१० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गरिने



काठमाडौं  ३ बैशाख । उद्योग मन्त्रालयको आगामी बर्षको बजेटले १० बर्ष भित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यताको अन्त्य गर्न रोजगारी सृजनालाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । यसका लागि वैदेशिक लगानी आकर्षित गर्न दोस्रो पुस्ताको नीतिगत आर्थिक सुधारलाई निरन्तरता दिने र औद्योगिक पूर्वाधारको विकास गर्ने कार्यक्रमलाई मन्त्रालयले अगाडी बढाउने भएको छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा मन्त्रालयमा आईतवार आयोजित छलफल कार्यक्रममा रोजगारी सृजनाका लागि आगामी आर्थिक बर्षमा स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने, कृषि र वनमा आधारित साना, लघु तथा घरेलु उद्योगलाई प्रोत्साहित गरिने निर्णय गरिएको छ ।

यस्ता उद्योगहरुको विकासका लागि प्रविधि र बजारिकणमा सघाउन मन्त्रालयका तर्फबाट अनुदानको व्यवस्था समेत गरिएको छ । उद्योग मन्त्रालयको आगामी आर्थिक बर्षको वजेटले ग्रामिण महिला तथा युवा उद्यमीहरुलाई उनीहरुको उद्योग विकासका लागि अनुदान समेत उपलब्ध गराउने नीति लिने भएको छ ।

यसरी अनुदान उपलब्ध गराउँदा ती उद्योग सँगको उत्पादकत्वलाई विश्लेषण गरी अनुदान उपलब्ध गराईनेछ । विदेशमा बस्ने नेपालीहरुलाई नेपाली बस्तुको प्रयोगलाई प्रात्साहित गर्न नेपाली वस्तुहरुको गुणस्तर प्रत्याभूत गर्ने दिशामा मन्त्रालयले सघाउने नीति लिने भएको छ । यसका लागि मन्त्रालयको नियमित वजेटका अतिरिक्त थप साँढे ३ अर्व रुपैंया बजेट आवश्यक पर्ने सो छलफल कार्यक्रममा बताईयो । मन्त्रालयले पहिलो पटक आगामी बर्षको बजेटको सम्वन्धमा सरोकारवाला निजी क्षेत्र सँग समेत छलफल गरी आगामी बजेटलाई अन्तिम रुप दिने तयारी समेत गरिरहेको छ ।

यसका लागि भोलि सोमवार मन्त्रालयमा सरोकारवाला निजी क्षेत्रको सहभागितामा छलफल कार्यक्रम हुँदैछ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ११:१५