सर्वोच्चले भन्यो सिलवाललाई थुनामुक्त गरेर तत्काल अदालतमा हाजिर गराउनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सर्वोच्चले भन्यो सिलवाललाई थुनामुक्त गरेर तत्काल अदालतमा हाजिर गराउनु



काठमाडौं ११ बैशाख । सर्वोच्च अदालतले प्रहरी नायव महानिरीक्षक डिआइजी नवराज सिलवाललाई थुनामुक्त गरेर तत्काल अदालतमा हाजिर गराउन आदेश दिएको छ। सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै अधिवक्ता पूर्णप्रसाद राजवंशीमार्फत सर्वोच्चमा दर्ता गराएको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।

सिलवाललाई सर्वोच्चका रजिस्ट्रारको रोहवर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा तुरुन्त थुनामुक्त गरी जहाँ राखिएको भए पनि अदालतमा उपस्थित गराउन आदेशमा भनिएको छ। रिटमा सिलवाललाई पक्राउ नगर्न आदेश माग गरिएको थियो। छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई घरबाट प्रहरी प्रधान कार्यालय नक्साल लगेको थियो ।

सिलवालले प्रहरी महानिरीक्षक प्रकाश अर्यालको नियुक्ति बदरको माग गर्दै निवेदन दिने क्रममा अर्कै कार्यसम्पादन मूल्यांकनको अर्कै कागज पेश गरेको सरकारको जिकिर छ । सिलवालले सर्वोच्चमा पेश गरेको कार्यसम्पादन मुल्याङ्कनमा प्रकाश अर्यालको फाइलबाट आफ्नो कपी पेष्ट गरेको खबरसमेत आएको छ, जसमाथि अहिले छानविन भइरहेको छ ।

कार्यसम्पादन मूल्याङ्कनको फाइल कसैले पनि राख्न नपाउने भए पनि सिलवालले आफ्नो मात्र नभई अर्यालको समेत फाइल राखेको र व्यक्तिगत फाइल मिडियालाई बाँडेको आरोप छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ०९:५९