सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग



काठमाडौं, १५ वैशाख  । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ यहाँ पत्रकारसम्मेलन गरेर त्यस्तो माग गरेको हो ।

नेपालमा निर्मित मौलिक एवम् कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको जनाउँदै सङ्घका अध्यक्ष ज्योत्स्यना श्रेष्ठले कालिगढको पर्याप्त उपलब्धता नहुँदा आफूहरुलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताए ।

झन्डै रु पाँच करोडको गहगहना निर्यात हुँदै आएको जानकारी दिँदै उनले सरकारीस्तरबाट सहयोग भएमा निर्यातको प्रशस्त सम्भावना रहेकाले सङ्घका जायज माग सम्बोधन गर्न आग्रह गरे ।

वैदेशिक रोजगारीमा जाने बढ्दोक्रमले स्वदेशी कालिगढबाट सेवा लिन कठिन भएको वास्तविकता औँल्याउँदै उनले रोजगारीका प्रशस्त अवसर स्वदेशमै सिर्जना गर्न सकिने बताए ।

सो सङ्घको १८ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा सुमनमान ताम्राकार प्रथम उपाध्यक्ष, नरेन्द्रकुमार गुप्ता द्वितीय उपाध्यक्ष, शक्तिकुमार बेगानी महासचिव, जयकुमार पाण्डे सचिव र ऋषि ठाकुर कोषाध्यक्ष छन्।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ०५:०९