प्रिमियमसहित अत्याधुनिक सुविधाको मोबाइल एप बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियमसहित अत्याधुनिक सुविधाको मोबाइल एप बजारमा



काठमाडौं २५ बैशाख । नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो । कम्पनीका अनुसार यस एपमा पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, सेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी, आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचनाहरु उपलब्ध छन् । साथै, कर्पोरेट गतिविधि, सूचीकृत कम्पनीका महत्वपूर्ण गतिविधिलाई पनि एपमा समेटिएको छ ।

सेयर बजारको आधारभूत तथा प्राविधिक विश्लेषण र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी सेवा पनि एपमा उपलब्ध छ । नेपालमै पहिलो पटक लगानीकर्ताले मोबाइल एपमार्फत पुँजी बजारसम्बन्धी गहन विश्लेषणसहितको प्रिमियम सेवासमेत पाउने भएका छन् । यसअन्तर्गत गहन प्राविधिक र आधारभूत विश्लेषण सेवा उपलब्ध हुनेछ । साथै, पोर्टफोलियो ट्रयाकर र एडभान्स चार्ट सेवासमेत उपलब्ध गराइएको छ ।

एपले सेयर बजार सम्बन्धी विस्तृत जानकारी दिने अनि प्रयोगकर्तामैत्री डिजाइन र चलाउन सजिलो भएकाले बजारमा उपलब्ध अरु एप भन्दा उत्कृष्ट रहेको निर्माता सोर्स कोड प्रालिका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए । एप अहिले एन्ड्रोइडमा मात्र उपलब्ध भए पनि निकट भविष्यमै आइओएसमा पनि आउने कम्पनीको भनाई छ । औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै यो एप तीन हजार भन्दा बढी डाउनलोड भइसकेको छ ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार ०९:३१