शेयर कारोबारलाई भ्याट लगाउन नमिल्ने धितोपत्र बोर्डको निश्कर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर कारोबारलाई भ्याट लगाउन नमिल्ने धितोपत्र बोर्डको निश्कर्ष



काठमाडौं २९ वैशाख  । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नमिल्ने सुझाव सरकारलाई दिएको छ। महालेखा परिक्षकको कार्यालयले बार्षिक प्रतिवेदनमा शेयर किनबेचमा पनि भ्याट लगाउनु पर्ने उल्लेख गरेपछि बोर्डले उक्त सुझाव दिएको हो।
महालेखाको प्रस्तावलाई आगामी बजेटमा सम्बोधन गर्नेबारे अर्थमन्त्रालयले छलफल चलाएपछि बोर्डले मंगलबार सुझाव पठाएको हो। बोर्ड बैठकले शेयर बजारलाई भ्याटको सीमामा ल्याउन नमिल्ने निश्कर्ष निकाले पछि मन्त्रालयमा सुझाव पठाएको हो।
शेयर कारोबार गर्ने लगानीकर्ताले तिरेको ब्रोकर कमिसनमा १३ प्रतिशत भ्याट लिनु पर्ने बताएको थियो। त्यस अनुरुप गत आर्थिक बर्षको अर्थमन्त्रालयको अडिट गर्दा शेयर कारोबारमा भ्याट नलिएको भन्दै महालेखाले बेरुजुमा राखिदिएको छ। ब्रोकरले पनि त्यसको बिरोध गर्दै आएका थिए।
नेपाल बिश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको हुँदा त्यसका नियमलाई उल्लंघन गर्न नसक्ने सुझाव बोर्ड अर्थमन्त्रालयलाई दिएको छ।  ‘बिश्व व्यापार संगठनका सदस्य देशले वित्तीय क्षेत्र र धितोपत्र बजारलाई भ्याट छुट दिएको कारण नेपालले पनि अनुशरण गर्नु पर्ने’ बोर्डको ठम्याइ छ।
मूल्य अभिवृद्धि कर ऐन २०५२ को अनुसूची १ मा पनि वित्तीय क्षेत्र, बीमा लगायतलाई भ्याटको सीमा नराखेको हुँदा शेयर कारोबारलाई पनि त्यस्तै व्यवहार गर्नु पर्ने बोर्डको तर्क छ। बस्तु या सेवा व्यापार जस्तो शेयर कारोबारमा अन्तिम उपभोक्ता नहुने हुँदा भ्याट लगाउन नमिल्ने जनाइएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा पनि धितोपत्र कारोबारबाट कमाएको आयमा कर तिरे नतिरेको जाँच नगर्ने व्यवस्था रहेको पनि बोर्डले मन्त्रालयलाई स्मरण गराएको छ।

बेलायतमा र नाइजेरियामा शेयर कारोबारमा भ्याट लिन खोज्दा असफल भएपछि सरकारले फिर्ता लिएको थियो। छिमेकी भारत देखि पाकिस्तान, बंगलादेश लगायत मुलुकमा पनि शेयर खरीद बिक्रीमा भ्याट लाग्ने गरेको छैन। राजधानीमा समिति शेयर बजारलाई मोफसलमा विस्तार गर्ने अभियानमा समेत भ्याट लगाउँदा धक्का पुग्न सक्ने तर्फ समेत बोर्डले सरकारलाई सचेत गराएको छ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ०८:५७