हालसम्मकै सबैभन्दा ठूलो साइबर आक्रमण, ९९ देशका कम्प्युटर ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

हालसम्मकै सबैभन्दा ठूलो साइबर आक्रमण, ९९ देशका कम्प्युटर ठप्प



काठमाडाै ३० बैशाख । यूरोप समेत कैयन देशहरुमा केहीबेरअघि हालसम्मकै सबैभन्दा ठूलो एकसाथ साइबर आक्रमण भएको छ । कैयन ठूला संगठन र संस्थाहरुमा भएको साइबर आक्रमणका कारण ती देशका कम्प्युटरहरुले काम गर्न छाडेका छन् । बीबीसीका अनुसार साइबर आक्रमणका कारण प्रभावित सयौं संस्था तथा कम्पनीहरुले आफ्ना कम्प्युटर लक भएका र त्यसबापत पैसा मागिएको स्क्रीनसट पोस्ट गरेका छन् ।

ब्रिटेन, अमेरिका, चीन, रुस, स्पेन, इटली, भियतनाम र अन्य कैयन देशहरुमा रेन्समवेयर नामको भाइरसबाट साइबर आक्रमण भएको खबर छ । यो भाइरसले केही महिनाअघिदेखि विश्वभरि आतंक मच्चाइरहेको छ । अर्काको कम्प्युटरमा यो भाइरस प्रवेश गराएर महत्वपूर्ण फाइल, फोल्डर लक गरिदिने र त्यो लक खोल्नका लागि घूस माग्ने यो भाइरसको प्रमुख विशेषता हो । उसले तोके जति पैसा पठाएपछि मात्र कम्प्युटरको लक खोलिदिने गरेको छ । यसले पछिल्लो समय विश्वभरि आतंक मच्चाइरहेको छ ।

एक साइबर सुरक्षा शोधकर्ताको ट्वीटलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शुक्रबार रातिदेखि एकसाथ भएको साइबर आक्रमणको क्रममा हालसम्म ३६ हजार भन्दा बढी कम्पनी तथा संस्थाहरुले आफ्ना कम्प्युटर ह्याक भएको जनाएका छन् ।

ब्रिटेनको नेशनल हेल्थ सर्भिस पनि रेन्समवेयर भाइरसबाट पूर्ण प्रभावित बनेको मिडिया रिपोर्टमा उल्लेख छ । ह्याकर्सहरुले ब्रिटेनका नेशनल हेल्थ सर्भिससँग जोडिएका हजारौं कम्प्युटरलाई एकसाथ निशाना बनाएका छन् ।

यस्तै, समाचार एजेन्सी एपीका अनुसार इंग्ल्याण्डका कयौं अस्पतालका कम्प्युटरमा समेत यस्तै समस्या देखिएको छ । त्यहाँका अधिकारीहरुका अनुसार जुन जुन कम्प्युटर ह्याक भएका छन्, ती कम्प्युटर खोल्न खोज्दा एउटा म्यासेज आउने गरेको छ र त्यहाँ लेखिएको छ कि लक भएको फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने हुन्छ ।

रेन्समवेयर एक कम्प्युटर भाइरसको नाम हो । यसले सुरुमा कम्प्युटर्स फाइललाई बर्बाद गरिदिने धम्की दिन्छ । त्यसैमा भनिन्छ, यदि फाइल बचाउने हो भने पैसा तिर्नुहोस् । यो भाइरसले कम्प्युटरमा रहेका फाइल तथा भिडियोहरुलाई इनक्रिप्ट गरिदिने र पैसा पाएपछि ती फाइलहरुलाई डिक्रिप्ट गरिदिन्छ । यो भाइरसले फाइल लकलाई अनलक गरिदिनका लागि आवश्यक फिरौति चुकाउनका लागि निश्चित समय नै तोकेर धम्की दिन्छ । उसले तोकेको समयमा पैसा नपाए फिरौति(लक फाइललाई अनलोक गर्दा लिइने रकम)को राशि बढ्दै जान्छ ।

प्रकाशित : ३० बैशाख २०७४, शनिबार ०८:५१