चक्रपथमा थपिए राता रङका बस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चक्रपथमा थपिए राता रङका बस



काठमाडौँ ३ जेठ ।सार्वजनिक सवारी साधनका लागि ठूला बस भित्र्याउने क्रमले प्रतिस्पर्धाकै रुप लिएको छ।
साझा यातायात मार्फत सुरु भएको ठूला बस भित्र्याउने क्रम तीन बर्ष यता तीब्र बनेको हो। राजधानीको चक्रपथ रुटमा राता रङका १४ ठूला बस १ जेठबाट सञ्चालनमा आएका छन्। मध्य उपत्यका स्वयम्भु बस सेवा समितिको नामबाट रुट इजाजत लिएर सञ्चालनमा ल्याएको सञ्चालक राजेश डंगोलले बताएका छन्।
ड्राइभर सहित ४० सिट क्षमताका बस हेर्दा महानगर यातायात जस्तै देखिन्छन्। महानगरको तुलनामा यी बसको रङ गाढा रातो छ। एयर सस्पेन्सन प्रविधियुक्त बसमा यात्रुको आकस्मिक सेवाको लागि  ‘फस्ट-एड’ बक्स समेत राखिएको छ।
यात्रुले निशुल्क वाइफाइ चलाउन पाउने सञ्चालक डंगोलले बताएका छन्। बसमा जडित जिपिएस प्रविधि मार्फत सूचना दिने मोबाइल एप डेभलप गर्ने समितिको तयारी छ। यो एप एन्ड्रोइड र आईओएस दुवै भर्सनमा उपलब्ध हुने समेत बताइएको छ।
यात्रुले उक्त एप मार्फत गाडी कहाँ आइपुग्यो मात्र होइन सिट खाली भए नभएको समेत हेर्न पाउने छन्। बसमा चढ्ने र झर्ने यात्रुको गणनाकालागि ‘काउन्टर सेन्सर’ जडान गरिने डंगोलले जानकारी दिए।
बसमा कार्डबाट पैसा तिर्न मिल्ने व्यवस्था गर्ने समेत जनाइएको छ। विहान ६ देखि बेलुकी ८ बजेसम्म रिङरोड फन्को मार्ने यी बसमा १६ जनाले उभिएर समाउन मिल्ने ‘ह्याङगिङ स्ट्रयाप’ राखिएको छ। सोही कारण सिट नपाउने यात्रुलाई पनि सास्ती हुनेछैन। सुविधा सम्पन्न बस ल्याउँदा प्रति गोटा ४६ लाख रुपैयाँ लागत परेको जनाइएको छ।

प्रकाशित : ३ जेष्ठ २०७४, बुधबार १०:३५