१ बाट ४ हुँदैछ क्लियरिङ बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१ बाट ४ हुँदैछ क्लियरिङ बैंक



काठमाडौं ४ जेठ। नयाँ क्लियरिङ बैंकले अबको दुई सातापछि काम थाल्ने तयारी गरेका छन् । नेपाल स्टक एक्सचेन्जले थप ३ वटा नयाँ क्लियरिङ बैंकलाई सञ्चालन अनुमति दिएको छ । हाल ग्लोबल आइएमई एउटैमात्र क्लियरिङ बैंकले काम गरिरहेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले थपिएका ३ वटा क्लियरिङ बैंकलाई काम सुरु गर्न अनुमति माग्दै ९अप्रुभलका लागि० धितोपत्र बोर्डमा पत्र पठाएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिने बित्तिकै थपिएका क्लियरिङ बैंकहरु सञ्चालनमा आउने छन् । गुप्ता भन्छन्, ‘क्लियरिङ बैंकलाई सञ्चालनको मिति तोकिएको छैन । सम्भवतः २ सातापछि ३ वटै क्लियरिङ बैंकले काम थाल्नेछन् ।’

स्टक एक्सचेन्जले इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकलाई क्लिरिङ बैंकका रुपमा काम गर्न अनुमति दिएको हो । सुरुमा सानिमा, बैंक अफ काठमान्डू, नबिल, सिटिजन्स, प्रभु, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, सनराइज, एभरेष्ट र एनबी बैंकले सञ्चालनका लागि आशयपत्र पेस गरे पनि ३ बैंकमात्र छनोट भएका थिए । यता, नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली सीडीएसले क्लियरिङ बैंक सञ्चालनका लागि अनौपचारिकरुपमा आफूहरुलाई जानकारी गराए पनि धितोपत्र बोर्डबाट सञ्चालन स्वीकृत पाए पछिमात्र क्लियरिङ बैंक, सीडीएस र नेप्सेबीच त्रिपक्षीय सम्झौता गरेर काम सुरु हुने बताउँ छन् ।

प्रवक्ता पराजुलीका अनुसार एकभन्दा बडी क्लियरिङ बैंक भएपछि ब्रोकरहरुले आफूले इच्छाएको बैंकबाट राफसाफसम्बन्धी काम र कारोबार गर्न पाउनेछन् । ‘ब्रोकर अनुसार क्लियरिङ बैंक छुट्याइएको छैन, जसले जहाँबाट कारोबार गरे पनि हुन्छ,’ उनले भने । अहिले एउटा मात्र बैंकबाट सेयर कारोबारको राफसाफ गर्नुपर्ने बाध्यता भएकाले लगानीकर्ताले कठिनाई भोग्दै आएका छन् । अब ४ वटा हुने भएपछि काम छिटोछरितो र पारदर्शी हुने विश्वास लिइएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७४, बिहीबार ०५:५८