चार बैंकको दुई अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चार बैंकको दुई अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको शेयर आउने



काठमाडौं, ८ जेठ  । दुई वाणिज्य बैंकसहित चार बैंकको दुई अर्ब ६५ करोड १३ लाख ७६ हजार ५१३ रुपैयाँको दुई करोड ६५ लाख १३ हजार ७६५ कित्ता हकप्रद शेयर आउने भएको छ । यी बैंकको शेयर निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डले एकैसाथ स्वीकृत प्रदान गरेको छ ।

बोर्डले आइतबार माछापुच्छे बैंक, सिद्धार्थ बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको स्वीकृति प्रदान गरेको हो । जसमध्ये माछापुच्छ्रे बैंकले १० बराबर १ दशमलव २ को अनुपातमा, सिद्धार्थ बैंकले १० बराबर ३ को अनुपातमा, अल्पाइनले ३ बराबर २.०८ को अनुपातमा र कञ्चनले ४ बराबर १ को अनुपातमा हकप्रद निष्काशनका लागि अनुमति प्राप्त गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १० बराबर १ दशमलव २ अनुपात अर्थात १२ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै सिद्धार्थ बैंक लिमिटेडले लगानीकर्तालाई १० बराबर ३ अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको हकप्रदलाई नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत प्रदान गरेको हो ।

हाल बैंकको पाँच अर्ब २५ करोड आठ लाख ५९ हजार रुपैँया रहेको चुक्ता पूँजी छ । बैंकले चुक्ता पूूँजीको ३० प्रतिशत अर्थात एक अर्ब ५७ करोड ५२ लाख ५७ हजार ८१३ रुपैयाँ बराबरको करोड ५७ लाख ५२ हजार पाँच सय ७८.१३ कित्ता हकप्रद जारी गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यस्तै अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँको १८ लाख तीन हजार २४७ कित्ता शेयर निष्काशन गर्ने भएको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले दश करोड ३९ लाख ५० हजार रुपैयाँको १० लाख ३९ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ०७:१०