शुरु भयो फाष्ट–ट्रयाकको निर्माण, प्रधानमन्त्री दाहालले गरे शिलन्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शुरु भयो फाष्ट–ट्रयाकको निर्माण, प्रधानमन्त्री दाहालले गरे शिलन्यास



काठमाडौं, जेठ १४ ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई, मधेस द्रुतमार्ग (फाष्ट–ट्राक) निर्माणको काम शुरु भएको भएको छ । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार फाष्ट–ट्रयाकको शिलन्यास गरे । शिलन्यास पछि आइतबार बाटै नेपाली सेनाले काम शुरु गरेको छ । फाष्ट–ट्रयाक निर्माणको जिम्मा नेपाली सेनार्ला दिइएको छ । शिलन्यास पश्चात उपत्यकामा प्रवेश गर्ने बैकल्पिक अन्य मार्गको विकासमा अवरोध नहुने गरी सो आयोजना अगाडि बढाइने भएको छ । कुल ७६ किलोमिटर लामो द्रुत मार्गको लागत एक खर्ब १२ अर्ब रहेको छ । आर्थिक बर्ष २०६६/६७ मा निर्माणको घोषणा गरिएको यस आयोजनाको घोषणालगत्तै नेपाली सेनाले दु्रतमार्गको ट्रयाक खोल्ने काम थालेर २०७० मा पूरा गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । द्रुत मार्ग निर्माण कार्य ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य सेनाले राखेको छ । द्रुतमार्ग निर्माण भएपछि १ घण्टामा काठमाडौंबाट निजगढ पुग्न सकिन्छ भने डेढ घण्टामा भारतीय सीमा रक्सौल पुग्न सकिने छ ।

सरकारले चालू आवमा विनियोजन गरेको बजेटमध्ये दोस्रो चौमासिक अवधिसम्म ६० करोड रुपैयाँमात्रै खर्च भएको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आव २०७४/७५ मा उक्त मार्ग निर्माणका लागि १४ अर्ब ५१ करोड रुपैयाँको सिलिङ पाएको छ भने मन्त्रालयले उक्त रकम कम हुने भन्दै २५ अर्ब रुपैयाँ बजेट माग गरेको छ । सरकारले भारतीय कम्पनी आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मा १६ मार्च २०१५ मा दिएको थियो भने २४ जुन २०१५ मा सो कम्पनीले डिपिआर पेस गरेको थियो । जुलाई १२, २०१५ मा सो डिपिआर स्वीकृत भएको थियो । सन् १९९३ मा डेनमार्कको अन्तर्रा्ष्ट्रिय विकास सहयोग नियोग (डानिडा) ले सो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । सेनाले सन् २०१२ को अन्त्यतिर ट्र्याक निर्माण सम्पन्न भएको भन्दै सरकारलाई हस्तान्तरण गरेको थियो । आयोजनामा सडकका लागि ३४ अर्ब, पुल ३६ अर्ब, सुरुङ सात अर्ब, कटिङ तथा डेन १७ अर्ब, विद्युतीकरण ६७ करोड, टोड फर्निचर २२ करोड, सूचना केन्द्र ५८ करोड, इन्टरसेक्सन एक अर्ब १८ करोड, अन्य केही शीर्षक र १३ अर्ब मूल्य अभिवृद्धि कर गरी कुल एक खर्ब १२ अर्बलागत लाग्नेछ । आयोजनामा करिब चार किलोमिटर जति सुरुङ मार्ग बन्नेछ भने पूर्ण रुपमा चार लेन हुनेछ । सर्भिस ट्र्याक दुवैतर्फ राख्दा सडक छ लेनको हुनेछ । द्रुतमार्गमा साइकल लेनको समेत छुट्टै व्यवस्था गरिने जनाएको छ ।

 

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०५:३९