गाउँपालिकामा बैंकको शाखा विस्तार गर्न राष्ट्र बैंकको आग्रह, अनुमति लिनु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गाउँपालिकामा बैंकको शाखा विस्तार गर्न राष्ट्र बैंकको आग्रह, अनुमति लिनु नपर्ने



काठमाडौं, १५  जेठ ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गाउँपालिकामा शाखा विस्तार गर्न आग्रह गरेको छ । संघीय संरचनाअनुसार वर्गीकरण गरिएको महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकामध्ये प्रायः गाउँपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा नपुगेकाले राष्ट्र बैंकले शाखा नपुगेका स्थानहरुमा जान बैंकहरुलाई आग्रह गरेको हो ।

यसका लागि राष्ट्र बैंकले शाखा सञ्चालनसम्बन्धी नीतिलाई केही लचिलो समेत बनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएबमोजिम गाउँपालिका र नगरपालिकाको केन्द्र बाहेकको स्थानमा शाखा खोल्दा पूर्वस्वीकृति नचाहिने व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्यवनमा ल्याइएको छ । यससँगै अब कुनै पनि गाउँपालिका चाहेको स्थानमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकको अनुमति विना नै शाखा विस्तार गर्न सक्नेछन् । महानगरपालिका, उप–महानगरपालिका र नगरपालिकाको केन्द्रमा शाखा खोल्न भने राष्ट्र बैंकको अनुमति चाहिन्छ ।

सहर केन्द्रित बैंकहरूलाई ग्रामिण भेगमा जान प्रोत्साहन गर्नुका साथै वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले यस्तो व्यवस्था ल्याइएको राष्ट्र बैंकको भनाइ छ । नयाँ व्यवस्थाअनुसार हाल ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका छन् ।

राष्ट्र बैंकले बैंकिङ पहुँच विस्तार गर्नका लागि विभिन्न नीतिहरु ल्याएको छ । सामाजिक सुरक्षाअन्र्तगतका भत्ता, पेन्सनलगायत स्थानीय निकायमा जाने रकम बैंकमार्फत वितरण गर्ने, आगामी साउन १ देखि १० लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्ने लगायतका नीति कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाको उपस्थिती अनिवार्य हुन्छ । यसै आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्र बैंकले गाउँपालिकामा शाखा विस्तार गर्नेसम्बन्धी नीतिमा लचकता अपनाएको हो । यससँगै, अब छिटै नै हरेक गाउँपालिकामा बैंककको उपस्थिती पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित : १५ जेष्ठ २०७४, सोमबार ०६:३१