डिम्याट र आश्वाले बजार प्रति आकर्षण बढाएको छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

डिम्याट र आश्वाले बजार प्रति आकर्षण बढाएको छ



नेपालको धितोपत्र बजार कुन रुपमा अघि बढेको छ ?

विगतका वर्षहरुमा धितोपत्र बजार गति सुस्त थियो । विगत २ वर्ष यता यस क्षेत्रमा विभिन्न राम्रा काम भएका छन् । यसले गर्दा बजार उल्लेख्य रुपमा बढेको छ । बजारले दु्रत गति लिएको छ । डिम्याट, आश्वा प्रणालीले गर्दा अझै गति बढेको छ । आगामी दिनमा यसले अझै गति लिने अपेक्षा गरेका छौं ।

धितोपत्र बजार विस्तारका लागि नेपाल धितोपत्र बोर्डले के कस्ता काम गर्दै आएको छ ?

केही सममदेखि काठमाडौं उपत्यका बाहिर पनि कारोबार सुरु भएको छ । तर नेपालभर भने पुग्न सकेको छैन । केही मुख्य शहरमा ब्रोकरको शाखा स्थापना भएर कारोबार सुरु भएको छ । ब्रोकरको व्यवसाय भएको हुनाले विस्तारै नेपालभर विस्तार हुन्छ । मर्चेन्ट बैंकरलाई पनि काठमाडौं उपत्यका बाहिर कारोबार गर्न निर्देशन जारी गरेका छौं । नेपालका सबै स्थानबाट धितोपत्रको कारोबार गर्ने व्यवस्था हामी मिलाउने छौं ।

नयाँ ब्रोकर कम्पनी स्थापनाको कुरा सुनिन्छ । प्रक्रिया के हुँदैछ ?

ब्रोकर कम्पनीको नयाँ लाइसेन्स दिनको लागि नेपाल स्टक एक्सचेन्ज सिफारिस आवश्यक पर्दछ । लाइसेन्स धितोपत्र बोर्डले दिने भएपनि एक्सचेन्जको सिफारिसको आधारमा लाइसेन्स दिन्छौं । नेप्सेले आफ्नो सिस्टम अपग्रेट गर्दैछ । नयाँ कम्पनीलाई लाइसेन्स दिने कुरा नेप्से र बोर्ड बीच कुरा भएको छैन । शाखा विस्तारको क्रममा लोकललाई पनि दिन सक्ने अवस्था आउन सक्छ ।

निरज गिरी, कार्यकारी निर्देशक,
नेपाल धितोपत्र बोर्ड

नेपालमा धितोपत्र बजारको संभाावना ठूलो छ तर त्यस अनुसार बजार विस्तार हुन सकेका छैनन् नि?

नेपालको बजार ठूलो भैसकेको अवस्था छैन । सरकारले विदेशी लगानी खुला गर्न ऐन जारी गर्दैछ । वैदेशिक लगानीमा देखिएका समस्यालाई ऐन जारी भएपश्चात हटाउँछ । ऐनमा विदेशी कम्पनीले कसरी सेयर जारी गर्नुपर्छ भन्ने बारेमा पनि उल्लेख गरेको छ । ऐन जारी भएपछि धितोपत्र बजार बढ्नेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।

व्यवसाय प्रवद्र्धन र विकासमा बोर्डले के कस्ता काम गर्दै आएको छ ?

व्यवसाय प्रवद्र्धन भन्दा पनि एजुकेट गर्ने काम गर्दै आएका छौं । क्षमता अभिवृद्धिका काम पनि गर्दै आएका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियका तालिम, सेमिनार प्रदान गर्दै आएका छौं । विदेशका ब्रोकर, मर्चेन्ट बैंकरले कसरी काम गर्दछन् भन्ने बारेमा जानकारी दिन भ्रमण जस्ता कामहरु गर्दै आएका छौं । अर्को कुरा ऐन, नियम संशोधनका काम पनि गर्दै आएका छौं ।

मर्चेन्ट बैंकरहरुमा प्रतिस्पर्धा देखिएको छ नि ?

नियमनको काम गर्दै आएका छौं । क्षमत अभिवृद्धिको काममा पनि हामी छौं । लाइसेन्स दिने एउटा पाटो हो । नियमन गर्नु अर्को पाटो हो । संस्थागत क्षमता अनुसार नियमनको काम गर्दै आएका छौं । प्रतिस्पर्धा हुनु आफैमा राम्रो पाटो हो तर प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा हुनु भएन ।

धितोपत्र खरिद सम्बन्धी निर्देशिका संशोधन भएको छ । निर्देशीकामा के कस्ता कुरा व्यवस्था गरिएको छ?

धितोपत्रको सार्वजनिक निष्कासनमा २०७३ माघ १ गते देखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू भएकोमा उक्त प्रणाली अन्र्तगत हाल सम्म तीन वटा संगठित संस्थाहरुको सार्वजनिक निष्कासन भैसकेको छ । यो प्रणाली लागू भएको छोटो अवधीमा नै कुल निष्कासन रकमको करिब साठी प्रतिशत रकम आस्वा प्रणाली मार्फत संकलन भई लगानीकर्ता तथा वैंक तथा वित्तीय संस्थाहरुको उत्साहजनक सहभागीता देखिएको र छिटो यो व्यवस्था अनिवार्य गर्न माग समेत भएको छ । यसै परिप्रेक्ष्यमा यो प्रणाली कार्यान्वयन भए पश्चात यसमा देखिएका समस्याहरुलाई निराकरण गरी यस प्रणालीलाई अझ सरलीकृत प्रभावकारी, मितव्ययी एवं सहज वनाउन धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी) २०७३ मा व्यवस्था गरी समसामयिक संशोधन गरिएको हो ।

आस्वा प्रणालीको क्षेत्र विस्तार गरी सरकारी स्वामित्व रहेको वाणिज्य वैंकलाई सहभागी गराउनुका साथै पचहत्तरै जिल्लाबाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने व्यवस्था गरिएको छ । लगानीकर्ताले वेभसाइटवाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्था गर्ने, निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने छ । सम्वन्धित वैंक वा वित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने, लगानीकर्तावाट दरखास्तसाथ पेश गर्नु पर्ने सेवा शुल्क वढी भएको भन्ने गुनासो आएकोमा उक्त शूल्क कम गर्ने (रु. दुई सय पचास सम्म लिन सक्ने व्यवस्था रहेकोमा सो कम गरी वढीमा रु. एक सय कायम गरिएको) तथा निष्कासन तथा विक्री प्रवन्धकले प्राप्त गर्ने शुल्क रु. दश मात्र गरिएको तथा वोर्डमा वुझाउनु पर्ने तीन प्रतिशत शुल्क हटाइएको छ ।

साथै धितोपत्र खरिद दरखास्त फारमलाई सरलीकृत गरिएको छ । साथै आस्वा प्रणालीमा सहभागी केही वैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र खरिद सार्वजनिक निष्कासन (आस्वा) मा अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेको साथै यो सेवालाई अझ छिटो छरितो गर्न सवै सहभागी संस्थाहरुलाई यथाशीघ्र अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न समेत निर्देशन दिईएको छ । विजनेस प्लसबाट

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०९:३२