लघुवित्तमा नयाँ रेकर्ड : आशाले खोल्यो एकैदिन १३ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लघुवित्तमा नयाँ रेकर्ड : आशाले खोल्यो एकैदिन १३ शाखा



काठमाडौं, १८ जेठ ।आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन आफ्नो १३ वटा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । संस्थाले चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवन, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–बर्दिया, बौनिया–कैलाली, बिर्घा–स्याङजा र हेम्जा–कास्कीका एकैदिन शाखा विस्तार गरेको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानीय, संस्थाका महिला सदस्यहरु लगायतको उपस्थितीमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको लघुवित्तले जनाएको छ ।

देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयबृद्धिमुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशील बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले एकैदिन १३ वटा शाखा विस्तार गरेको आशा लघुवित्तका अध्यक्ष रामबहादुर पाण्डेले बताए । यससँगै आशा लघुवित्तको शाखा संख्या २८ पुगेको छ । स्थापनाको नौ महिनामा नै आशाले द्रुत गतिमा शाखा सञ्जाल विस्तार गर्दै २८ वटा पुर्याएको हो ।

आशा लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । विपन्न वर्ग तथा विकट स्थानका सर्वसाधारणलाई लक्षित गर्दै आगामी दिनमा पनि यसरी नै शाखा विस्तार गर्दै जाने लक्ष्य लघुवित्तले लिएको छ । अध्यक्ष पाण्डेका अनुसार, छिटै नै आशा लघुवित्तका शाखाहरु पाल्पा, धादिङ्ग, झापा, मोरङ्ग, सुनसरी, ईलाम, रुपन्देही लगायतका स्थानहरुमा विस्तार हुँदैछन् ।  विस्तारलाई नै अबको रणनीति बनाएर अघि बढ्ने योजना रहेको जानकारी अध्यक्षले गराए ।

नुवाकोट जिल्लाको मदानपूरमा प्रधान कार्यालय रहेको आशा लघुवित्तको चुक्तापुँजी १० करोड रुपैयाँ छ । संस्थामा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० रहेको छ । देशकै प्रतिष्ठित प्रभु ग्रुपद्धारा सञ्चालित आशा लघुवित्तले छोटो समयमा नै सदस्य संख्या सात हजार दुई सय ७२ पुर्याएको छ भने ३० करोड ३९ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरिसकेको छ । न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने लक्ष्य लिएको लघुवित्त आफ्नो लक्ष्यप्रति खरो उत्रिएको देखिएको छ ।

 

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार १०:५२