Feature News

नेपाललाई विश्व बैंकको सुझाब : युवाशक्तिलाई स्वदेश मै प्रयोग गर



काठमाडौं,१९ जेठ । दुईमध्ये एक परिवारमा रेमिटेन्स (विप्रेषण) आउने गरेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘मध्यम आयको मार्गमा नेपाल’ प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

करिव दुई दशक अघि अर्थात्  सन् १९९६ मा चारमध्ये एक घरपरिवारले कुनै प्रकारको रेमिटेन्स प्राप्त गर्दथे । तर, विदेश जाने क्रम बढेसँगै घरपरिवारमा आउने रेमिटेन्स पनि बढेको छ ।

आजभन्दा करिव १२ वर्ष अघि अर्थात् २००४ सम्ममा यो संख्या बढेर तीनमध्ये एक परिवारले रेमिटेन्स पाउन थालेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय सन् २०११ यता दुईमध्ये एक परिवार अर्थात् आधाले रेमिटेन्स पाउन थालेका छन् ।

हाल ४० लाख भन्दा बढी नेपाली विदेशमा रहेको अनुमान गरिएको छ । दैनिक १५ सयको हाराहारीमा नेपाली कामको खोजीमा विदेश जाने गरेका छन् । उनीहरुले वार्षिक ७ खर्व रकम नेपाल पठाउने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

रेमिटेन्स आयमा पनि विगत बर्षहरुमा भन्दा बढेको छ । सन् २००० मा कुल गार्हस्थ उत्पादन (जिडिपी) मा दुई प्रतिशत हिस्सा रहेको रेमिटेन्स आय २००५ मा १५, २०१० मा २२ हुँदै २०१६ मा ३० प्रतिशत हुन पुगेको छ ।

नेपालमा न्यून प्रजनन दरको परिणामस्वरुप काम गर्ने उमेरको जनसंख्या हिस्सा काम नगर्ने उमेरको भन्दा ठूलो भएको विश्व बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ । जनसांख्यिक लाभ भनेको विदेशमा कमाएर ल्याएको पैसा नै हो । नेपाली युवाको सीप विकास गरी स्वदेशमै लगानी गर्नु अपरिहार्य भएको सुझाव पनि विश्व बैंकले दिएको छ ।

विश्व बैंकले अगाडि भनेको छ, भविष्यका लागि सबल र बढी दिगो आर्थिक वृद्धिको मार्ग पहिल्याउन थप मानव पुँजी नेपालको उत्पादनशील प्रयोगमा लगाउनु महत्वपूर्ण हुन्छ । तर, अहिले कामकाजी उमेरका व्यक्तिलाई विदेशको श्रमबजारमा पठाउने र तिनले पठाएको रेमिटेन्सबाट उपभोगमा मात्र ध्यान दिँदा भने लक्षित उद्देश्य हासिल हुन सक्दैन । यसले घरेलु उपभोगमात्र बढाएको निष्कर्ष विश्व बैंकले निकालेको छ ।

ठूलो संख्यामा विदेशतर्फ हुने आप्रवासन सबलताको संकेत होइन, बरु गहिरो र दीर्घ समस्याको लक्षण हो । यो रेमिटेन्स जनतालाई गरिबीमा फस्नबाट जोगाउने सुरक्षा कवच त भएको छ तर रकम द्रुत आर्थिक वृद्धि र अवसर विस्तारमा प्रयोग हुन सकेको छैन । ऐतिहासिक रूपले नै न्यून रहेको आर्थिक वृद्धिका कारण स्वदेशमै रोजगारीका अवसर अभावको अवस्था जन्माएको छ र यसले आप्रवासन बढाएको छ ।श्रमको यस्तो आप्रवासनले प्रतिव्यक्ति आय र जिडिपीको दाँजोमा ठूलो परिमाणमा रेमिटेन्स आप्रवाह भएको छ । ठूलो संख्याको आप्रवासन एवं त्यसैसँग जोडिएर आउने रेमिटेन्सले प्रतिस्पर्धी क्षमतालाई क्रमशः क्षयोन्मुख बनाउन योगदान गरेको विश्व बैंकको निष्कर्ष छ ।

 

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ०२:४२