पैसा छ ? ३४ करोडको आईपीओ अाउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

पैसा छ ? ३४ करोडको आईपीओ अाउदै छ



काठमाडौ २४ जेठ। रिभर फल्स पावर लिमिटेडले ३४ करोड ३० लाख बराबरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ कम्पनीले सो परिमाणमा आईपीओ जारी गर्ने भएको हो ।

यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । सेयर प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरिसकेका छन् ।

रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४ लाख ३० हजार कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ । ९.५ मेगावाट क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७४, बुधबार १०:२३