भार्गवको ८५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भार्गवको ८५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला



काठमाडौ २६ जेठ ।भार्गव विकास बैंकले आज (शुक्रबार) देखि ८५ हजार २३१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । भार्गवले संस्थापक समूहको ३२ हजार ४६६ कित्ता र सर्वसाधारण समूहको ५२ हजार ७६५ कित्ता गरी कुल ८५ हजार २३१ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने असार २ गतेसम्म तोकिएको छ । यस अघि भार्गवले फागुन २४ गतेदेखि चैत २८ गतेसम्म १२ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
लिलामीमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौं तथा भार्गवको मुख्य कार्यालय सुर्खेतरोड, नेपालगंजमा पुग्नेगरी बोलपत्र फारम बुझाउनु पर्नेछ । संस्थापक समूहको बोलपत्र असार ४ गते दिउसो ३:३० र सर्वसाधारण समूहको ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौमा खोलिनेछ । भार्गवको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । हाल बैंकको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ करोड ४३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७४, शुक्रबार ०७:३३