‘रोजगारी विश्वशिखर बैठक’मा भाग लिन राष्ट्रपति आज जेनेभा जाँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘रोजगारी विश्वशिखर बैठक’मा भाग लिन राष्ट्रपति आज जेनेभा जाँदै



काठमाडौं ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारी विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले बैठकलाई असार १ गते सम्बोधन गर्ने कार्यक्रम छ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो ।

श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले भण्डारीसँग भेट्ने कार्यक्रम पनि छ । उनका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने जनाइएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७४, मंगलवार ०५:१७