राष्ट्र बैंकले दियो तीन कम्पनीलाई पेमेण्ट गेटवे लाइसेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले दियो तीन कम्पनीलाई पेमेण्ट गेटवे लाइसेन्स



काठमाडौं, ७ असार  । नेपाल राष्ट्र बैंकले तीनओटा कम्पनीलाई मोबाइल फोनको माध्यमबाट कारोबार गर्न मिल्ने गरी पेमेण्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । आईएमई पे, प्रभु टेक्नोलोजी र ईसेवा फोन पेले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ अनुसार पेमेण्ट गेटवेको लाइसेन्स प्राप्त गरेको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

अन्तरराष्ट्रिय क्षेत्रमा मोबाइल बैङ्किङ नगद कारोबार घट्दै गएको परिप्रेक्ष्यमा नेपालमा भने यसको प्रयोग कमै मात्रामा मात्र हुँदै आएको थियो । अब राष्ट्र बैंकको अनुगमनका साथै आधिकारिक निकायबाट सेवाको अडिट पनि गर्नुपर्ने भएकाले सेवामा विश्वसनीयता बढ्ने र नगद कारोबारमा कमी आउने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।

नगद बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागसमेत स्थापना गरिसकेकाले नियमन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सञ्चालनको ७ वर्षपछि लाइसेन्स प्राप्त गरेको ईसेवाले मोबाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बस टिकट, मुभी टिकट खरीद जस्ता सय बढी सुविधा दिँदै आएको छ ।

प्रभु र आईएमईले रेमिट्यान्स कारोबार गर्दै आएका छन् । पेमेण्ट गेटवेको लाइसेन्स पाएपछि ती कम्पनीले अझ व्यवस्थित ढङ्गले विश्वसनीय आधारका साथ सेवाको विस्तार गर्न पाउने भएका छन् । आईएमई समूहले आईएमई पेको नामबाट डिजिटल वालेट सेवा प्रदान गर्ने गरी लाइसेन्स पाएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी, प्रभु समूहले सब्सिडियरी कम्पनी प्रभु टेक्नोलोजीबाट पेमेण्ट गेटवे लाइसेन्स पाएको बताइएको छ । प्रभु टेक्नोलोजीले युटिलिटी बिल भुक्तानी, डिजिटल फाइनान्स सेवा लगायतको कारोबार गर्न पाउने गरी लाइसेन्स दिएको पनि राष्ट्र बैंकका सहप्रवक्ता पण्डितले जानकारी दिए ।

प्रकाशित : ७ असार २०७४, बुधबार ०२:२७