किन अाएन तामाकोशीको शेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किन अाएन तामाकोशीको शेयर ?



दोलखा, ७  असार । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुने मिति नजिकिँदै गए पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर जारी गर्न थप ढिलाइ भएको छ । नयाँ स्थानीय तहअनुसार जिल्ला समन्वय समितिको गठनमा ढिलाइ हुँदा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले दोलखावासीलाई शेयर जारी गर्न नसकेको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

दोलखावासीले जारी पूँजीको १० प्रतिशत शेयर पाउने गरी कम्पनीको शेयर संरचना बनेको वर्षौं भइसकेको छ । जिल्ला समन्वय समितिले शेयर वितरण प्रक्रिया पारित गरेपछि मात्रै कम्पनीले दोलखालीले पाउने १० प्रतिशत वितरण गर्ने व्यवस्था छ । स्थानीय बासिन्दाले पाउने शेयर वितरणमा ढिलाइ भएसँगै अन्य सर्वसाधारणले पाउने १५ प्रतिशत वितरणसमेत थप पछि धकेलिएको छ ।

हाल आयोजनाको निर्माण करीब ८९ प्रतिशत सम्पन्न भइसकेको छ । विनाशकारी भूकम्पका कारणले रोकिएको माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुनै लाग्दासमेत शेयर वितरण हुन नसक्दा २ वर्षदेखि लगानीका लागि रकम जोहो गरेर बसेका स्थानीय बासिन्दा अन्योलमा परेका छन् । नयाँ जिल्ला समन्वय समितिले निर्णय लिनुपर्ने व्यवस्था भए पनि सो समितिको निर्वाचन हुन नसक्दा शेयर वितरणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिए ।

शेयर वितरणमा ढिलाइ हुँदा कम्पनीको पूँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापन नै प्रभावित भएको प्रवक्ता न्यौपानेको भनाइ छ । ‘शेयरको रकम पूर्वअनुमानित समयमा सङ्कलनमा हुन नसक्दा आयोजनाले ठेकेदारलाई भुक्तानी दिन समस्या परेको छ,’ न्यौपाने भन्छन् । आयोजना निर्माण सम्पन्न गर्न लागत बढेर करीब ४१ अर्ब लाग्ने अनुमान गरिएकोमा १ अर्ब २० करोड ३० लाख दोलखा जिल्लावासीबाट सङ्कलन गर्नुपर्ने हुन्छ ।

स्थानीय तहअन्तर्गत गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन जेठ २३ गते सम्पन्न भएको मितिले १ महीनाभित्र जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने भए पनि थप २ साता बितिसक्दासमेत निर्वाचन हुन सकेको छैन ।

‘निर्वाचन आयोगले चासो नदेखाउँदा माथिल्लो तामाकोशीको शेयर वितरणमा ढिलाइ भइरहेको हो,’ एक स्थानीयले भने । यसअघि आयोजनाको शेयर वितरण गर्ने प्रयोजनका लागि जिल्लावासीको तथ्याङ्क सङ्कलन गरी विश्लेषणसमेत भइसकेको थियो । कानूनले स्थानीय भनेर स्पष्ट पारेको र थप पहिचानको टुङ्गो लागेकाहरूले जिल्लावासीको हैसियतले शेयरमा लगानी गर्न सक्ने निर्णय पनि यसअघि नै भएको थियो ।

साविकको लामाबगर गाविसका बाहेक अन्य दोलखालीले प्रतिव्यक्ति समान करीब ७० कित्ता शेयर खरीद गर्न पाउने गरी यसअघि निर्णय भएको आयोजनाले बताएको छ । आयोजनाप्रभावित जिल्लावासीले जारी पूँजीको १० प्रतिशत स्थानीय शेयर करीब १ करोड २५ लाख कित्ता हुन आउँछ । देशभित्र र बाहिर गरी अधिकतम २ लाख २० हजार दोलखाली भएको अनुमान गरिएको छ । आयोजनाको जारी पूँजी रू। ११ अर्ब भएकाले कुल शेयर कित्ता ११ करोड रहेको छ ।

प्रकाशित : ७ असार २०७४, बुधबार ०२:३०