वेडिङ फोटो अवार्ड चितवनका सुमन सापकोटालाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वेडिङ फोटो अवार्ड चितवनका सुमन सापकोटालाई



काठमाडौं,८ साउन। क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले बिबहामा खिचेको तस्बिरले पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई बिजयी मात्र बनाएन क्यानन ६ डि क्यामेरा समेत जिताउन सफल भयो ।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको बिबहाको तस्बिरले पाएको थियो। उनले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाएका थिए । यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पाएको थियो भने उनले क्याननकै ७५० डि क्यामेरा पाएका थिए ।

उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए । यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए ।

अवार्ड बिजेताहरुलाइ प्रमुख अतिथीद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले शील्ड, पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए । पुरस्कृत भएका फोटोहरु सँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिदै संघका अध्यक्ष भबदेब थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अबलोकनका लागि आउन सर्बसाधारणलाई आग्रहरु गरे ।

काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको वेडिङ फोटोग्राफी प्रतियोगिता पाँचौ संस्करणमा पुगेका बताउँदै संघका सचिब भोजराज घिमीरेले आगामी दिनमा पनि यसको निरन्तरता रहने बिश्वास ब्यक्त गरे ।

७ सय भन्दा बढी फोटोग्राफरहरुका लगभग १२ सय फोटोहरु समाबेश भएको बताउँदै फोटो अवार्डका संयोजक धर्मराज केसीले यो पटकको अवार्ड काठमाडौंका फोटोग्राफरहरुलाई पछि पार्दै उपत्यका भन्दा बाहिरको फोटोग्राफरले जितेको बताए । मोफसलमा पनि यो कार्यक्रमको प्रभाव बढेको बताउँदै संयोजक केसीले आगामी बर्षहरुमा यसको प्रभाव नेपालभर पर्ने दाबी गरे ।

अवार्ड बितरण कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुले मनोरंजनात्मक प्रस्तुतीहरु पस्किएका थिए । कार्यक्रममा क्यानन नेपालका प्रमुख सुनिल त्रिबेदीले काठमाडौ फोटोग्राफर संघ संग मिलेर गरेको यो कार्यक्रम सफल बनेको बताउँदै आगामी दिनमा पनि यसको निरन्तरता हुने बताए ।

स्टेज डेकोरेसन देखि फ्रेम निर्माणमा सहयोग गरेका सिबि माउन्ट एण्ड फ्रेमिङ सेन्टरका प्रबन्ध निर्देशक च्याङ्बा लामालाई कार्यक्रममा फोटोग्राफर संघले सम्मान गरेको थियो । सम्मान पछि बोल्दै लामाले गएका बर्षहरुभन्दा यो बर्ष कार्यक्रम भब्य बनेको बताए ।
फोटो प्रतियोगिताको निर्णायकमा योगेन्द्र जंग बस्नेत,रत्न मान आशु र बालकृष्ण श्रेष्ठ रहेका थिए ।

प्रकाशित : ८ श्रावण २०७४, आईतवार ०८:२८