शेयर कुन बेला किन्ने र बेच्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

शेयर कुन बेला किन्ने र बेच्ने ?



नेपालमा हालका वर्षहरुमा शेयर बजारमा नया लगानीकर्ता हरुको प्रबेश बढिरहेको छ । यो सकारात्मक कुरा हो । तर नया लगानीकर्ताहरु सेयर खरिद र बिक्रि गर्न नजानेर चाडै फस्ने र दोहोराएर बजारमा नआउने जोखिम पनि उत्तिकै बढिरहेको छ । साँचै बजारमा शेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । शेयर कुन बेला किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब शेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका शेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा शेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो ।

भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर शेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।

शेयर बजार सधै बढिरहदैन र सधै घटि रहने पनि हुन्न । एउटा बिन्दुमा पुगेर यो स्थिर बस्ने र ओरालो लाग्ने हुन्छ र फेरि तलको कुनै बिन्दुमा पुगेर माथि चढ्न थाल्छ । विभिन्न पक्षहरुले यसलाई असर पारेको हुन्छ ।

क्यानाडेली शेयर बजारका रणनीतिकार बब गोरम्यान भन्छन् – यदि तपाईले शेयर किन्नुभयो र त्यसलाई नबेची होल्ड गर्नुभयो भने तपाईले बदलिदो आर्थिक बाताबरणबाट लाभ उठाउँन सक्नुहुन्न । तर लामो समयको लागि शेयर किन्नु भएको छ भने नबेची राख्दा पनि फरक नपर्ने कुरामा नअल्मलिनुहोस् ।

गोरम्यानले उनका लगानीकर्ताहरुका लागि तीन देखि पाँच बर्षसम्मका लागि शेयरहरु किन्थे र फाईदा आएको अबस्थामा बेच्ने मौका पनि हेरिरहन्थे ।

तपाईले किन्नु भएको शेयरको भाऊ अझै किन्न लायक छ कि छैन भनेर हेर्नुहोस् । नियमित रुपमा आफ्नो शेयरहरुको मूल्य तौलनुहोस् । तपाईले सस्तोमा शेयर किन्नु भएको थियो र बजार नाटकीय रुपमा माथि गयो भने बेचेर बाहिर निस्कन पनि सक्नुहुन्छ, त्यसो गर्नु भएन भने त्यसैमा झुण्डिरहने न हो । छोटो समयका लागि लगानी गर्नेहरु भने यस्तो बेलामा शेयर बेचेर नाफा सुरक्षित गर्ने गर्छन ।

कतिपय लगानीकर्ताहरुले १०-१५ बर्षका लागि दीर्घकालीन हिसावले शेयर किनेका हुनसक्छन् । उनीहरुले कहिल्यै शेयर बेच्दैनन् तर यस अवधिमा कयौ. पटक बजार उकालो लागेर क्र्यासको अबस्थामा झरेको हुनसक्छ । त्यसपछि ती लगानीकर्तामा आफरी ताफरीको अबस्था उत्पन्न हुनसक्छ, निराशा बढाउनसक्छ र अब मूल्य अरु घट्ला भन्ने डरले पहिले बढेर उच्चतम बिन्दुमा पुगेको भन्दा आधा मूल्य कममा शेयर बेचेर बाहिरिन खोज्छन ।

दीर्घकालीन लगानीकर्ताले पनि नाफा सुरक्षित गर्ने उपाय के हो त ?

तपाईले अल्पकालीन वा दीर्घकालीन हिसावले बजारमा लगानी गर्नुभएको छ भने पनि नाफा सुरक्षित गर्ने सजिलो उपाय छ ।

तपाईका सबै शेयरहरुलाई तीन भागमा बाड्नुहोस् । पहिलो ३३ प्रतिशत शेयर कमजोर कम्पनीका र भबिष्यमा बढी प्रतिफल नदिने खालका भए झन् राम्रो । शेयर बजार तल झर्न थाल्दा सबैभन्दा पहिले घट्ने र धेरै मूल्य घट्ने कम्पनीहरु भनेका कमजोर कम्पनीहरु नै हुन् । अब तपाईले तीन तहको शेयर बेच्ने लक्ष्य किटानी गर्नुहोस् । शेयर मूल्य माथि चढ्दै जाँदा पहिलो लक्ष्य हासिल भएपछि पहिलो भागमा परेका शेयरहरु बेच्नुहोस् र नाफा सुरक्षित गर्नुहोस् ।

जब दोस्रो लक्ष्य पनि हासिल हुन्छ, दोस्रो भाग शेयर पनि बेच्नुहोस् । तेस्रो भाग चाँही राखि राख्नुहोस् जसमा कहिल्यै नबेचे पनि हुने खालका अति सुरक्षित मानिएका र ढुक्कको प्रतिफल ,दिने खालका शेयरहरु होस् ।

पहिलो र दोस्रो लक्ष्य कसरी किटानी गर्ने ?

यो गाह्रो प्रश्न हो, जुन तपाई शेयर बजारबाट के चाहनुहुन्छ र तपाईको समयसिमा कति हो भन्ने कुरामा निर्भर हुन्छ । मानौ तपाईको समयसिमा एक देखि तीन महिना हो भने पहिलो लक्ष्य २५ प्रतिशतले शेयर मूल्य बढ्दासम्म कुर्नुहोस् । दोस्रो लक्ष्यका लागि शेयर मूल्य ५० प्रतिशतले बढेपछि शेयर बेच्नुहोस् र तेस्रो भाग शेयर आफैसंग राख्नुहोस् ।

अब तपाईको समयसिमा एक बर्षदेखि तीन बर्षसम्मका लागि हो भने माथिको तुलनामा दोब्बर लक्ष्य किटानी गरे पनि हुन्छ ।

शेयर किन्नुभन्दा बेच्नु गाह्रो कुरा हो भनेर मान्नेहरुका लागि शेयर बेच्ने यी सामान्य तरिकाहरु हुन् यसबाहेक तपाईले आफ्नै मौलिक रणनीति पनि बनाउनसक्नुहुन्छ ।

शेयर बजार बढेको बेला तपाईलाई पोर्टफोलियो परिवर्तन गर्ने उत्तम अबसर पनि हो । नराम्रा तर मूल्य बढेका कम्पनीका शेयर बेची राम्रा र भबिष्यमा राम्रो प्रतिफल दिने कम्पनीको शेयर किन्ने । तर मूल्य बेस्सरी उचालिएको बेलामा राम्रा कम्पनीका शेयर किन्नुभयो भने पनि सोचे जति फाईदा नहुनसक्छ त्यसैले बजार तल झर्दासम्म पर्खनुहोस् ।
अमेरिकी ईक्विटी रणनीतिकार साभ स्टोभल भन्छन् –मानिसहरुमा गलत सोचाई छ कि बजार सच्चिनु खराब पक्ष हो । उनीहरु शेयर बेचेर बाहिर निस्कन्छन् तर बजार सच्चिएर फर्किदा किन्न चुक्छन् ।
साभ अगाडि भन्छन् –बजार यही समयमा चढ्छ र झर्छ भनेर समय तोक्ने प्रयास नगर्नुहोस् । मानिसहरु कहिले बजारबाट निस्कने भनेर सही निर्णय त गर्न सक्छन् तर धेरैले फेरि कहिले प्रबेश गर्ने भन्ने बारेमा बिरलै सही निर्णय गर्छन् ।

मानिसहरु सोच्ने गर्छन कि जब बजार तल भर्न थाल्छ, तब शेयर बेच्ने हो र जब बढ्न थाल्छ तब किन्ने हो । तर यसमा समस्या यही छ कि बजार कहिले माथि र तल जान्छ भनेर भबिष्यबाणी गर्न असंभव छ ।

स्रोतः बीबीसी

प्रकाशित : १४ श्रावण २०७४, शनिबार १०:५०