कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत



काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन् । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान सरकार क्रियाशिल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यटनसँगै कृषि, पर्यटन र ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उल्लेख गरे ।

बुधबार राष्ट्रिय पत्रकार संगठन (नाटोज) को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘पर्यटनका साथै कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो । राज्यको प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’  विश्वमा नेपालबारे अफबाहसमेत फैलिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको बताए ।

जोखिमयुक्त पर्यटन क्षेत्रहरुमा सञ्चारको पहुँच नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यस क्षेत्रहरुमा सञ्चारको पहुँच पुर्याउन सरकार क्रियाशिल रहेको समेत उल्लेख गरे । ‘जोखिमयुक्त क्षेत्रमा सञ्चारको पहुँच नहुँदा पर्यटकहरुले सास्ती भोग्नु परेको छ । कतिपय अवस्थामा दुर्घटना हुँदा सञ्चारकै अभावले क्षति व्यहोर्नु परेको अवस्था छ । ‘यसतर्फ सरकार सचेत छ’, बस्नेतले थपे, ‘टेलिकम क्षेत्रमा रहेका समस्या समाधानका लागि केहि दिनमै बृहद् गोष्टी हुँदैछ । क्षेत्रमा रहेका समस्याबारे जानकारी गराउनुस्, म समाधान गर्न तयार छु ।’मुलुकको अर्थ व्यवस्था बलियो बनाउने हो भने पर्यटन क्षेत्रलाई नै राज्यले महत्व दिनुपर्ने मन्त्री बस्नेतको भनाई थियो ।

उनले सरकारी कार्यालयहरुमा कामकारबाही ढिलो हुने गरेको गुनासो प्राप्त हुने गरेको भन्दै त्यस्तो गर्ने कर्मचारीलाई कारबाही गरिने चेतावनी दिए । प्रक्रियाबाट आएका काम २४ घण्टा पनि नभए आफूलाई जानकारी गराउन आग्रह समेत मन्त्री बस्नेतले गरे । सो अवसरमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन र सूचनालाई सँगसँगै अघि बढाइनु पर्ने भन्दै अहिले पनि पर्यटन क्षेत्रमा विभिन्न खालका समस्या रहेको बताए । अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या निराकरणको लागि सरकारको ध्यानाकर्षण समेत गराए । कार्यक्रममा अधिकारीले नाटोजको विराटनगर र चितवन च्याम्टरको घोषणा समेत गरेका थिए ।

सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र ररातोपाटीका पत्रकार राजकुमार सिग्देललाई नाटोज पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । १० हजार राशिको उक्त पुस्कार सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए । कार्यक्रममा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष चन्द्र रिजाल, एनएमएका अध्यक्ष सन्तबीर लामालगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित : १४ भाद्र २०७४, बुधबार २१:५०