सलबलाउँदै आपराधिक समूह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सलबलाउँदै आपराधिक समूह



काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर सल्लाघारी बस्ने सुवास लामा योन्जन, मकवानपुर भीमफेदी गाउँपालिका घर भई धुम्बाराही बस्ने कुमार अधिकारी र काभ्रे घर भई शंखमुल बस्ने टीकाबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पेस्तोल बोकेर हिँडेको टोलीको उद्देश्य सुनेपछि पो प्रहरी झसंग भयो– उनीहरू नुवाकोटको कालिका वनमा बसेर रसुवाको केरुङ नाका हुँदै भित्रिएको तस्करीको सुन लुटने योजनामा थिए ।

प्रहरीका अनुसार सुन लुट्नकै लागि यो समूहले ललितपुरको ग्वार्कोबाट एक जनासँग ५० हजार रुपैयाँमा पेस्तोल किनेको थियो । प्रहरीले पेस्तोल बेच्नेलाई भने पक्राउ गरिसकेको छैन ।

प्रहरीका अनुसार यो समूहले पेस्तोल देखाएर आफूलाई प्रहरीका रूपमा प्रस्तुत गर्दै तस्करीमा भित्रिएको सुन लुट्ने योजना बनाएको थियो । तस्करीको सुन लुट्नकै लागि बन्दुक बोकेर हिँडेको यो न पहिलो समूह थियो, न अन्तिम नै ।

प्रहरीका अनुसार केरुङ नाका हुँदै निरन्तर सुन तस्करी हुने थालेपछि तस्करीको सुन लुट्ने योजनामा विभिन्न लुटेरा र आपराधिक समूह सक्रिय हुन थालेका देखिन्छन् ।

प्रकाशित : १४ कार्तिक २०७४, मंगलवार ०८:५४