देशभर १३ लाख ७० हजार मतदाता थपिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

देशभर १३ लाख ७० हजार मतदाता थपिए



 

काठमाडाै । स्थानीय तहको निर्वाचनपछि १३ लाख मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या १ करोड ४० लाख ५४ हजार ४ सय ८२ थियो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ५ गतेसम्म मतदाता नामावली अध्यावधि गर्दा १३ लाख ७० हजार २ सय ४९ मतदाता थप भएका हुन्।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ५४ लाख २४ हजार ७ सय ३१ कायम भएको निर्वाचन आयोगले जनाएको छ।
सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन्। मोरङमा स्थानीय तहमा ५ लाख ५३ हजार ८ सय ७० मतदाता रहेका थिए। प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ८० हजार ९ सय १५ मतदाता थपिएका छन्। मोरङमा मतदाताको संख्या ६ लाख ४४ हजार ७ सय ८५ कायम भएको छ।

सबैभन्दा कम मतदाता मुस्ताङमा थपिएका छन्। स्थानीय तहको निर्वाचनका लागि नामावली अध्यावधिक गर्दा मुस्ताङमा ८ हजार २ सय ६३ मतदाता थिए। त्यसमा १ हजार १ सय ६४ मतदाता थप भई मुस्ताङमा मतदाताको संख्या ९ हजार ४ सय २७ पुगेको छ।
सरकारले भदौ ५ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको थियो। मतदाता नामावली ऐन ०७३ को प्रावधान अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली अद्यावधिक गर्न पाइँदैन।

स्वीकृत भएको मतदाता नामावली अनुसार, प्रदेश १ मा सबैभन्दा बढी २९ लाख ९३ हजार ६६९ मतदाता छन् ।  प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ मतदाता छन्।
प्रदेश ६ मा सबैभन्दा कम ८ लाख ४६ हजार ९३३ छन्। प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
जिल्लागत हिसाबमा सबैभन्दा बढी मतदाता मोरङमा छन्।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन्। मनाङमा सबैभन्दा कम ५ हजार ८ सय ८० मतदाता छन्।
यसअघि स्थानीय चुनावको आधारमा मत विश्लेषण गरिँदै आए पनि यो संख्याले आसन्न निर्वाचनको नतिजामा फरक पार्ने देखिन्छ।

प्रकाशित : २२ कार्तिक २०७४, बुधबार १३:०६