हलुका र रहर होइन स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई प्रमुख निर्वाचन आयुक्तको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

हलुका र रहर होइन स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई प्रमुख निर्वाचन आयुक्तको सुझाव



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हलुका र रहरकारुपमा नलिइ स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त गरेका राष्ट्रिय संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिसँगको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको पर्यवेक्षण नजिकका जिल्ला र सहरमामात्र नभइ दुर्गम र माथिल्लो भेगमासमेत हुन आवश्यक रहेको बताए ।

‘निर्वाचन पर्यवेक्षणको काम निकै जिम्मेवार र जटिल विषय हो, पर्यवेक्षण सूक्ष्म र बृहतरुपमा हुनुपर्छ, निर्वाचनलाई आयोगको व्यवस्थापनकारुपमामात्र नहेरी हाम्रो जिम्मेवारी र कर्तव्य हो भन्ने सोच सबै सरोकारवालामा हुन आवश्यक छ’–उनले भने ।

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता र सरोकार भएकाहरु सतर्क हुने र त्यसबाट निर्वाचनलाई सहयोग पुग्ने बताए ।

आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा एकरुपता ल्याउन र एउटै बुझाइ होस् भनेर प्रशिक्षणको आयोजना गरिएको जनाउँदै पर्यवेक्षण आचारसंहिताभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिए ।

आगामी निर्वाचनका लागि पर्यवेक्षण गर्न आयोगले स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ ।

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार २१:०३