आजदेखि ब्याजदर करिडर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आजदेखि ब्याजदर करिडर



काठमाण्डौ । चालुु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको चार महिनापछि नेपाल राष्ट्रबैंकले बुधबार(आज)देखि ब्याजदर करिडर लागूू गरेको छ ।

चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदरमा स्थिरता कायम गर्ने उद्देश्यले राष्ट्रबैंकले ब्याजदर करिडरको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गत वर्षदेखि नै ब्याजदर करिडोरसम्बन्धी व्यवस्था ल्याएको थियो । सामान्यतया ब्याजदर करिडोरमा माथिल्लो (अपर बाउन्ड) र तल्लो (लोअर बाउन्ड) गरी दुई सीमा तोकिन्छ । बजार ब्याजदरलाई ती सीमाभित्रै राख्ने प्रयास गरिने भए पनि राष्ट्र बैंकले गत वर्ष ल्याएको ब्याजदर करिडोरमा तल्लो सीमा तोकेको थिएन । सो व्यवस्था प्रभावकारी हुन नसकेपछि चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तल्लो सीमा ३ प्रतिशत तोकेर लागू गर्ने घोषणा गरेको थियो । अहिले त्यही व्यवस्था कार्यान्वयनमा आएको हो ।

ब्याजदर करिडोर लागू गरी केन्द्रीय बैंकले तरलताको स्थिति र अन्तरबैंक ब्याजदरलाई सीमामा राख्नेछ । तरलताको स्थिति मापनका लागि अनिवार्य तरलता अनुपात(सीआरआर) भन्दा बढी कति तरलता छ भन्ने हेर्छ । त्योभन्दा बढी भए बजारबाट तरलता खिच्छ भने कम भएमा बजारमा पैसा पठाउँछ । अर्को मापदण्ड अन्तर बैंक ब्याजदर हो । अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेमा राष्ट्र बैंकले रिभर्स रिपो र दुईहप्ते निक्षेप बोलकबोलमार्फत बजारबाट पैसा खिच्छ । यसको विपरीत अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा बढी भए रिपोमार्फत बजारमा पैसा पठाउँछ ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार हाल अन्तरबैंक ब्याजदर ४ प्रतिशतको हाराहारीमा छ । यो दर ५ प्रतिशतभन्दा माथि नपुग्दासम्म बजारमा पैसा पठाउन मिल्दैन ।

करिडोर लागू भएपछि पोलिसी रेटभन्दा तल ब्याजदर हुँदासम्म बजारमा पैसा पठाउन पाइँदैन, त्यसो गरेमा त्यो चालु आर्थिक वर्षको मौद्रिक नीतिविपरीत हुन्छ ।

प्रकाशित : २९ कार्तिक २०७४, बुधबार १२:४३