कफीको उत्पादन ७ प्रतिशतले बढ्दा किन घट्यो निर्यात ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कफीको उत्पादन ७ प्रतिशतले बढ्दा किन घट्यो निर्यात ?



काठमाडौं । देशभर कफीको उत्पादन ७ प्रतिशतले बढेको छ । तर, कफीको उत्पादन बढेसँगै यसको निर्यात भने घटेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार यो वर्ष २ करोड ३६ लाख ५२ हजार रुपैयाँ मूल्य बराबर कम मात्रामा कफीको निर्यात घटेको छ ।

केन्द्रको तथ्यांक अनुसार गत वर्ष करिब १० करोड ८१ लाख रुपैयाँ बराबरको कफी निर्यातबाट घटेर यसवर्ष करिब ८ करोड ४५ लाख रुपैयाँ मूल्य बराबरको कफी निर्यात भएको छ ।

 

नेपालमा उत्पादन भएका कफीको स्वदेशम उपभोगबढेपछि निर्यात घटेको बोर्डको तर्क छ । बोर्डका कार्यकारी निर्देशक गौतमका अनुसार उत्पादनका साथै कफीको आन्तरिक बजार पनि बढेको अनुमान गरिएको छ । गत वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटेकाले नेपाली कफीको बजार बढेको अनुमान गरिएको गौतमले बताए ।

‘देशभर कफी क्याफे हाउसहरुको विस्तारले नेपाली कफीको लोकप्रीयता बढ्दै गएको पाइन्छ,’ उनले भने, ‘यद्दपी उत्पादनमा अझ वृद्धी गर्दै निर्यात पनि बढाउनु आजको प्रमुख आवश्यकता हो ।’

यसवर्ष कफी रोपण क्षेत्रमा बिस्तार भएपछि उत्पादन बढेको देशभर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । यसमा चार सय ६६ टन कफी उत्पादन भएको छ ।

देशभर गरिएको कफी खेतीबाट गत वर्ष ४३४ टन उत्पादन भएको थियो । यस वर्ष कफी खेतीयोग्य जमिन २८ हेक्टर क्षेत्रफल वृद्धि भएको छ ।

गत वर्ष २६१८ हेक्टर क्षेत्रफल रहेको जमिनबाट बढेर २६४६ हेक्टर पुगेकाले उत्पादन बढेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । उनले भने, ‘विभिन्न जिल्लाहरुमा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयहरुले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभावस्वरुप रोपण क्षेत्र विस्तार भएको हो । जसले गर्दा कफी उत्पादन बढ्यो ।’

तथ्यांक अनुसार गत वर्ष करिब साढे ५ करोड रुपैयाँ बराबरको कफी आयातबाट घटेर यसवर्ष करिब ५ करोड ४ लाख रुपैयाँ बराबरको मात्र कफी आयात भएको छ ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ११:२९