साताभरमा झन्डै तीन अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साताभरमा झन्डै तीन अर्बको कारोबार



काठमाडाै । साताको सुरुवातमा आशा लिएर आएको सेयर बजार अन्तिममा निराश बनाएर बन्द भएको छ । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार र मंगलबार पनि बढेर १५१६ अंकसम्म पुगेको थियो ।यद्यपि, उक्त वृद्धि टिक्न सकेन । बुधबार र विहीबार दोहोरो अंकले घटेर सेयर बजार १४८९.०६ अंकमा कायम हुन पुग्यो । गत साताको अन्तिम दिन नेप्से १४६०.७३ अंकमा बन्द भएको थियो । यस आधारमा हेर्दा, साताभरमा भने सेयर बजार २८.३३ अंकको वृद्धिमा रहेको देखिन्छ ।

आइतबार अघिल्लो कारोबारको तुलनामा घटेको भएतापनि सोमबार र मंगलबार सेयर कारोबारमा राम्रो वृद्धि देखिएको थियो । बुधबार र विहीबार भने नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आयो । समग्रमा साताभरमा दुई अर्ब ९० करोड १८ लाख ७२ हजार छ सय ४६ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा बढेको हो । गत साता दुई अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो ।

चिलिमे हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक लगायतको राम्रो कारोबार भएको छ । बजार बढेका दिनहरुमा केही सेयरधनीहरुले कमाउने अवसर पाएको भए तापनि पछिल्लो दुई दिनमा बजार घट्दा थोरै कम्पनीले मात्रै कमाएका छन् । समग्रमा, हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सगरमाथा इन्स्योरेन्स, प्रभु बैंक प्रोमोटर लगायतका सेयरधनीले गुमाएका छन् ।

प्रकाशित : २ मंसिर २०७४, शनिबार १४:०४