राष्ट्र बैंक भन्छ- अर्थतन्त्र सुधारउन्मुख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंक भन्छ- अर्थतन्त्र सुधारउन्मुख



काठमाडाै । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको छ । विशेषगरी, पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पूँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार असोज महिनामा शोधानान्तर ४ अर्ब २७ करोडले बचतमा फर्केको छ । शोधनान्तर बचतमा गएको तथा कृषि उत्पादन बढेको कारण अर्थतन्त्र सुधारमा आएको राष्ट्र बैंकको भनाई छ ।

गत साउन र भदौ महिनामा शोधानन्तर घाटामा गएको थियो । शोधानान्तर बचतमा फर्केपनि चालु खाता भने २१ अर्ब ९४ करोड रुपैयाँले घाटामा रहको तथ्याकं राष्ट्र बैंकले सार्वजनिक गरको छ ।

राष्ट्र बैंकका अनुसार साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादन बढेको, उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने जनाएको छ ।

यस्तै होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार भएको र सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको छ ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा रेमिटेन्स बृद्धिदर २.६ प्रतिशतले बढेको छ । भदौंमा ०.७ प्रतिशतले रेमिट्यान्स भित्रने दरमा सुधार भएपनि असोजमा २.६ प्रतिशतले वृद्धि भएको हो । असोज मसान्तसम्ममा १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ । अघिल्लो वर्षको तुलनामा भने रेमिटेन्सको बृद्धिदरको घटेको छ । गत आवको तेस्रो महिना रेमिट्यान्सको वृद्धिदर ३.२ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स घटेपनि देशमा सञ्चित विदेशी मुद्राले नेपालको ११.२ महिनाको बस्तु तथा सेवा आयात धान्न गर्न सकिने अवस्था रहेको छ । हाल १० खर्ब ९९ अर्ब रुपैयाँ सञ्चित रहेको छ ।

बैदेशीक रोजगारीमा जानेको संख्यामा कमि आएकोले केही समययता रेमिट्यान्सको वृद्धिदर खुम्चिदै गएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको भने यस्तो बृद्धिदर १६.१ प्रतिशतले घटेको थियो ।

तरकारी तथा फलफूल जस्ता शीघ्र नाशवान वस्तुहरुको मूल्यमा उतार चढाव हुँदा हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहेको छ ।

त्यस्तै कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको राष्ट्र बैंकले बताएको छ । सरकारले आर्थिक वर्षको शुरुदेखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरुलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित : ३ मंसिर २०७४, आईतवार १८:२४