अब फेसवुकबाटै भिडियो लाइभ स्ट्रिमिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब फेसवुकबाटै भिडियो लाइभ स्ट्रिमिङ



काठमाडौँ । सोसल मिडिया साइट फेसबुकले स्ट्रिमिङ भिडियो फिचर ‘लाइभ’ सुरु गरेको छ । तर यो फिचर सबै प्रयोगकर्ताका लागि नभै केवल सेलिब्रेटीहरुका लागि मात्र हो ।
‘लाइभ’ को माध्यमबाट कलाकार, संगीतकार तथा अन्य सेलिब्रेटीहरुलाई आफ्ना फ्यान सँग जोडिनका लागि थप सहज हुने विश्वास फेसवुकले गरेको छ ।
‘आजबाट सेलिब्रेटीहरु फेसबुक मेन्सनबाट आफ्नो लाइभस भिडियो शेयर गर्न सक्छन् । यो एउटा यस्तो एप हो जसका माध्यमबाट खेलाडि, संगीतकार, नेता तथा अन्य चर्चित व्यक्तित्वहरुलाई आफ्ना फ्यानहरुसँग तथा एक अर्कामा कुराकानी गर्न थप सजिलो हुनेछ ।’ फेसबुकका प्रडक्ट म्यानेजर वादिम लाब्रुसीले एक ब्लग पोष्टमा लेखेका छन् ।

उनका अनुसार फेसबुकको लाइभ स्ट्रिमिङ भिडियोमा लाइभ प्रशारणकै क्रममा लाइक गर्न सकिने, शेयर गर्न सकिने तथा कमेन्ट समेत गरेर सेलिब्रेटीसँग कुराकानी गर्न समेत सकिनेछ । साथै आफ्ना साथीहरु तथा अरु मानिसहरुले आफ्नो भिडियो कतिबेला देखि हेर्न सुरु गरे भन्ने जानकारी समेत सेलिब्रेटीहरुले पाउन सक्छन् ।
चर्चित हस्तीहरुसँग उनीहरुका फ्यानहरु रियल टाइममा जोडिने एउटा उत्तम तरिकाको रुपमा फेसबुकको लाइभ भिडियो स्ट्रिमिङ फिचर रहेको दाबी फेसबुकका अधिकारीको छ । साथै भिडियो लाइभ हेर्न नपाएकाहरुले पछि पनि उक्त भिडियो हेर्न पाउने सुविधा समेत रहेको फेसबुकले जनाएको छ ।
अहिलेसम्म यो फिचरसँग जोडिने सेलिब्रेटीहरुमा टेनिस स्टार सेरेना विलियम्स, अभिनेता ड्वेन जोनसन, म्युजिक स्टार ल्यूक ब्रायन, ब्राजिलियन फुटबलर काका, अभिनेत्री एश्ले टिसडेल तथा गायक माइकल बुबले लगायतका रहेका छन् ।
यहीँ वर्ष ट्विटरको भिडियो स्ट्रिमिङ फिचर पेरिस्कोप तथा एक अर्को स्वतन्त्र भिडियो स्ट्रिमिङ एप मिरक्याट सार्वजनिक भएर लोकप्रियता हासिल गरेसँगै फेसबुकले त्यसको प्रतिस्पर्धीको रुपमा आफ्नो भिडियो स्ट्रिमिङ एप ‘लाइभ’ ल्याएको हो ।

 

 

प्रकाशित : २३ श्रावण २०७२, शनिबार ०८:१९