यस्तो छ निर्वाचन आयोगको प्रारम्भिक रिपोर्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो छ निर्वाचन आयोगको प्रारम्भिक रिपोर्ट



काठमाडौँ । प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो । प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ ।

प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा ७४ सांसद निर्वाचित हुँदै छन् भने प्रतिनिधिसभाका लागि ३७ सांसद निर्वाचित हुनेछन् । बाँकी ४५ जिल्लाबाट २५६ प्रदेश सभा सदस्य र १२८ प्रतिनिधिसभाका सांसद निर्वाचित हुनेछन् । यी निर्वाचनसँगै नेपालको राजनीतिक संक्रमण पनि अन्त्य हुनेछ ।

 

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रारम्भिक रूपमा ६५ प्रतिशत मत खसेको छ । ४४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । आयोगका अनुसार संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् ।

सोलुको तिङ्लामा फेरि शून्य मतदान

 

सोलुखुम्बुका तिङ्लाका स्थानीयले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय निर्वाचनमा जस्तै यो वडाबाट एक मत पनि परेन । स्थानीय तह पुनर्संरचनामा आफूहरूमाथि अन्याय भएको भन्दै करिब पाँच हजार जनसंख्या भएको यो गाउँ आन्दोलित छ ।
सोलुको नेचासल्यान गाउँपालिका–६ बनेको यो गाउँ पहिले सिंगै गाविस थियो । स्थानीय तह पुनर्र्संरचनाका क्रममा कांग्रेसबाहेकका दलले तिङ्लालाई सदरमुकाम रहेको सोलु–दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए । र, त्यसैअनुसार सिफारिस भएको थियो, तर कांग्रेसले त्यसमा सहमति जनाएन ।

स्थानीय तह पुनर्संरचना आयोगले पनि कांग्रेसको मागअनुसार नेचासल्यानतिरै राख्यो । त्यसपछि असन्तुष्ट बनेका स्थानीयले ३१ वैशाखको स्थानीय तहको निर्वाचन बहिष्कार गरेका थिए । तिङ्ला गाउँबाट सदरमुकाम झन्डै आधा घन्टाको दूरीमा छ ।
तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ–दुई घन्टाको दूरीमा छ । त्यसैले यो मागमा गाउँवासी सबै एक छन् । माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय स्थानीयले गरेका हुन् ।

दुई मतदान केन्द्रमा मतदान स्थगित

पश्चिम रुकुमका दुईवटा केन्द्रमा मतदान स्थगित भएको छ । बाँफिकोट गाउँपालिका–५ काँडाको रत्न आधारभूत विद्यालय मतदानस्थलको (क) मतदान केन्द्र र आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलको (ख) मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
मतपत्रमा एसिड हाल्दा मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि ती दुई मतदान केन्द्रमा मतदान स्थगित भएको बताइएको छ । एसिड खसालिएका मतपेटिका नखोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हुम्लाको मेखालामा ६ मत खस्यो

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको रारा आधारभूत मेखाला मतदान केन्द्रमा ६ मत खसेको छ । हुम्ला चंखेली गाउँपालिका–३ मेखालामा आइतबार अपराह्न ४ बजेपछि ६ जनाले मतदान गरेका हुन् ।
गाउँकै रारा प्राविमा मतदान केन्द्र राखिए पनि ४ बजेपछि मात्रै ६ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । स्थानीय तहको पुनर्संरचनाको विषयलाई लिएर असन्तुष्ट भएकाले स्थानीय मतदान गर्न नआएको उनले बताए । सो मतदान केन्द्रमा ११९ मतदाता छन् ।

बैतडीमा ११४ वर्षीया वृद्धाले गरिन् मतदान

बैतडी सुर्नया गाउँपालिकाकी ११४ वर्षीया पशुपति साउदले मतदान गरेकी छिन् । उनी जिल्लाकै ज्येष्ठ मतदाता हुन् ।
सुर्नया गाउँपालिका–८, काठमाणाकी साउदले आइतबार दिउँसो ढोल्या मतदान केन्द्रबाट मत हालेकी हुन् । हिँड्न नसक्ने उनलाई कान्छा छोरा प्रतापले पिठ्युँमा बोकेर ल्याएका
थिए ।

छोराको सहयोगमा उनले मतपेटिकामा मत खसालिन् । एक वर्षभित्रै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मत हाल्न पाउँदा उनी निकै नै खुसी देखिइन् । नयाँपत्रिकामा खबर छ ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार ०८:४५