दुई उपसचिव सहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई उपसचिव सहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीका दुई उपसचिव सहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव नौ करोड रुपैयाँ हिनामिनाको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालयका उपसचिवद्धय होमनाथ अधिकारीविरुद्ध १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध आठ करोड ८२ लाख रुपैयाँ बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो ।

त्यस्तै, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही आठ करोड ९६ लाख रुपैयाँ बिगो मागदावी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरेकामध्ये उपसचिव पौडेल विरुद्ध २३ करोड ७७ लाख बिगो दाबी गरिएको मुद्दा अदालतमा विचाराधीन छ । त्यस्तै, लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २१ लाख बिगो दाबी गरिएको मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ ।

अभियुक्तहरूले आर्थिक वर्ष २०६९/७० र आव २०७०/७१ मा भएको कारोबार र तिनको कागजी प्रमाणको अनुसन्धान गरेको थियो । प्रतिवादीहरूले आव २०६९/७० मा १४ लाख ५ हजार रुपैयाँ र आव २०७०/७१ आठ करोड ८२ लाख कम राजश्व दाखिला गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । दुवै आवमा गरी आठ करोड ९६ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम जरिवाना तथा दफा ३ (१) र ३(१) को देहाय (झ) बमोजिम हदैसम्मको सजाय दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ ।

यसअघि पनि अख्तियारले सोही कार्यालयका आठ जनाविरुद्ध गत ४ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएकामध्ये टिकाराम अधिकारी सोमवारमात्रै ५० लाख धरौटीमा रिहा भएका छन् भने बाँकीले वयान दिनै अटेर गरिरहेका छन् ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १६:५४