निगमको आन्तरिक उडान घाटा वार्षिक ३२ करोड ३५ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निगमको आन्तरिक उडान घाटा वार्षिक ३२ करोड ३५ लाख



काठमाडौं ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान घाटा वार्षिक ३२ करोड ३५ लाख रुपैयाँ पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार निगमले आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग गरेपछि घाटा उच्च बन्दै गएको हो। हाल निगमको दैनिक आठ लाख ८६ हजार रुपैयाँ छ।

अन्नपूर्ण पोष्टमा राजु बास्कोटा लेख्छन्–पूर्णसिट क्षमतामा उड्न नसक्नु, अन्तर्राष्ट्रिय उडानको एयरवसको तुलनामा पाटपूर्जा दोब्बर महँगो हुनु, बिमा रकम अधिक हुनु,उडान समय कम हुनु,तोकेकै दरमा दुर्गम क्षेत्रका लागि सेवामूलक उडान गर्र्नु, निजी वायुसेवाको तुलनामा निकै सस्तो भाडादर तोकिनुलगायतका कारण चिनियाँ जहाजले घाटा बढाएको निगमका अधिकारीले जानकारी दिएका छन्।

चिनियाँ जहाज एमए ६० र वाई १२ ई भित्रिएपछि निगमको आन्तरिक उडान घाटा चुलिएको निगम पदाधिकारीले जानकारी दिएका छन्। निगमको यस्तो घाटा गत आर्थिक वर्ष २०७०-७१ मा १४ करोड १२ लाख रुपैयाँ थियो।

चिनियाँ जहाजले उडान गर्न थालेपछि गत आवमा आन्तरिक उडान घाटा ३२ करोड ३५ लाख पुगेको हो। २०७१ को वैशाख १४ मा ५६ सिट क्षमताको चिनियाँ जहाज एमए ६० र सोही वर्ष कात्तिक १७ गते १८ सिट क्षमताको वाई १२ ई जहाज निगमको आन्तरिक उडानमा प्रयोग गरिएको थियो। यी दुईवटा जहाजले आन्तरिक उडान गरेपछि निगमको आन्तरिक उडान घाटा १८ करोड ३२ लाख रुपैयाँ बढेको छ।

पूर्णसिट क्षमतामा उड्न नसक्नु, अन्तर्राष्ट्रिय उडानको एयरवसको तुलनामा पाटपूर्जा दोब्बर महँगो हुनु, बिमा रकम अधिक हुनु,उडान समय कम हुनु,तोकेकै दरमा दुर्गम क्षेत्रका लागि सेवामूलक उडान गर्र्नुलगायतका कारण चिनियाँ जहाजले घाटा बढाएका हो।

निगमको आन्तरिक उडानका जहाज उडाउँदाभन्दा नउडाउँदा निगमलाई फाइदा हुने भएको छ। जहाज उडाउँदा त्यो जहाज उडानमा गर्नुपर्ने खर्चले निगमलाई दैनिक घाटा थपिरहेको छ। निगमका अनुसार एमए ६० एउटै जहाजले निगमलाई डुबाइरहेको छ।

यो जहाज भित्रिएको एक वर्षमा चार महिना बिग्रिएर थन्किएको (ग्राउन्डेड) भएको छ। चिनियाँ जहाज एमए ६० आम्दानी भए वा नभएपछि दैनिक साढे दुई लाख रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । यस्तो बिमाशुल्क निगमले एउटा एमए ६० को मात्रै गत आवमा नौ करोडभन्दा बढी बुझाएको छ।

पाटपूर्जा खरिद, आवश्यक मर्मत, जहाज सञ्चालन खर्च र अर्को वाई १२ को पनि खर्चविवरण जोड्दा वार्षिक १८ करोड भन्दाबढी गुमाएको निगमको भनाइ छ। निगमको आन्तरिक उडान आफैमा घाटाको व्यापार हो। त्यसमा पनि चिनियाँ जहाज थपिएपछि समस्या समाधान हुनु त कता हो कता उल्टै थपिएको निगम उच्च अधिकारीको भनाइ छ।

निगमले एक वर्षभरी जहाज उडाएर पनि आन्तरिक उडानमा भने हरेक दिन घाटा बोहोरिरहेको छ। निगमको आन्तरिक उडान घाटा हरेक वर्ष बढ्दै गइरहेको छ । यस्तो घाटा ०७९÷७० मा सात करोड ९० लाख रुपैयाँ रहेको निगमले जानकारी दिएको छ।

निगमका प्रवक्ता रामहरि शर्माले निगमसँग आन्तरिक उडानका लागि जहाज कम हुनु नै घाटाको पहिलो कारण भएको बताए।निगमका जहाजले दुर्गम क्षेत्रका स्थानीयलाई सेवामूलक उडानको सुविधा गर्नुपर्ने भएकै कारण २०४७-०४८ देखिनै आन्तरिक उडान हरेक वर्ष घाटामै सञ्चालन भइरहेको छ।

निगमको आन्तरिक उडानले वार्षिक कमाइको दोब्बर खर्च गर्नुपर्ने भएकोले पनि घाटामै भए पनि सेवा दिनुपरेको हो। निगमले हरेक वर्ष २०-२५ करोड मात्रै आम्दानी गर्ने तर सञ्चालन खर्च ४४-५० करोडभन्दा माथि हुने गरेकोले पनि आन्तरिक उडान घाटामा रहेको उल्लेख छ।

निगमको अन्तर्राष्ट्रिय उडान भने वार्षिक ७६ करोड २९ लाख रुपैयाँ नाफामा छ। निगमले हवाई उडान, ग्राउन्ड ह्यान्डलिङसहितका सेवाबाट वार्षिक आठ अर्बको आम्दानी गर्ने गरेको छ । यो आम्दानीबाट निगम सञ्चालन गर्ने हुने भए पनि हालसम्म घाटामा नभएको निगमको दाबी छ।

तर, निगमले साढे दुई दसक अगाडि लाउडा विमान भाडामा ल्याउँदा लागेको घाटा भने अझै पूर्ति भएको छैन। निगमको सञ्चित घाटा अझै एक अर्ब रुपैयाँ छ। निगमले हाल आन्तरिक उडानमा ९ एन एबीयू र ९ एन एबीटी नामक दुईवटा ट्वीनअटर र एमए ६० र वाई १२ नामक दुईवटा जहाज सञ्चालन गरिरहको छ।

प्रकाशित : २७ श्रावण २०७२, बुधबार ०२:४६