‘काँग्रेसलाई सिध्याउन खोज्नेहरु आफै समाप्त हुनेछन्’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

‘काँग्रेसलाई सिध्याउन खोज्नेहरु आफै समाप्त हुनेछन्’



भद्रपुर । नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सबैलाई छहारी दिने नेपाली काँग्रेस पार्टीको तुलना हुन नसक्ने बताएका छन् । नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिद्वारा झापा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने राणा, राजा र तत्कालीन राजा ज्ञानेन्द्र आफैँ समाप्त भएर गएको धारणा व्यक्त गरे ।

आसन्न निर्वाचन विगतको जस्तो परम्परागत नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउनका निम्ति भएकाले सचेत नेपाली जनतालाई परिवर्तनको बाटो हिँड्ने र विभिन्न आन्दोलन एवं संघर्षको नेतृत्व गर्ने नेपाली काँग्रेसका उम्मेदवारलाई मत हाल्न नेता सिटौलाले आग्रह गरे ।

उनले सहिदको सपना र जनआन्दोलन गरिमा बढाउन पनि नेपाली जनताले मलाई मत हाल्नुपर्ने कुरामा जोड दिए । सामाजिक सद्भाव, एकता र शान्तिकामी नेपाली काँग्रेसको नेतृत्वमा नेपालको संविधान जारी भएको स्पष्ट पार्दै नेता सिटौलाले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको पूर्ण कार्यान्वयनका निम्ति लोकतान्त्रिक उम्मेदवार जित्नुपर्ने उल्लेख गरे । कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (क) का उम्मेदवार भूमि राजवंशी र नेपाली काँग्रेसका नेता भारतेन्दुकुमार मल्लिकले पनि बोलेका थिए ।

यसैगरी चुनावी अभियानअन्तर्गत भद्रपुर ९ र १० को आयोजनामा चन्द्रगढीको बिपी चोकमा आयोजित बृहत् सभालाई आज सम्बोधन गर्दै झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले पार्टीगत घोषणापत्रले देशमा समृद्धिको सपना पूरा गर्न नसक्ने बताएका छन् उनले विगतका नराम्रा पक्षलाई छोड्ने र वर्तमानमा राम्रो गर्नसक्ने नेतृत्व देशले खोजेको जनाउँदै जलस्रोतको परिचालन नै देश धनी बन्ने आधार प्रस्तुत गरे ।

 

उनले काँग्रेसले केही गरेन भनेर गाली गर्नेले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालका खाका कसको पालामा कोरिएको हो सोच्न आग्रह गर्दै नेपाली जनताको हकहित र अधिकारका लागि लड्ने नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा यसै क्षेत्र प्रदेश (क) का उम्मेदवार केशवराज पाण्डेले चीन र भारत जोड्ने पहाडी मार्ग निर्माणले जनताको जीवनस्तर उठ्ने प्रष्ट पार्नुभयो भने प्रदेश (ख) का उम्मेदवार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृतिलाई अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राखेका थिए ।

प्रकाशित : १६ मंसिर २०७४, शनिबार २१:३२