निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउँछः खाँण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्वाचनमा काँग्रेसको स्पष्ट बहुमत आउँछः खाँण



काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने बताएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पत्रकार सम्मेलनमा लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्नका लागि जनताले काँग्रेसलाई बहुमत दिलाउने बताएको हो ।

सम्मेलनमा समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एकढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले काँग्रेसको स्पष्ट बहुमत आउने बताए । “दोस्रो चरणमा हुन लागेको १२८ प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस ७० स्थानमा अगाडि छ”– उनले भने ।

 

उनले शान्ति, स्थिरता र लोकतान्त्रिक शासन व्यवस्था काँग्रेसको प्रमुख लक्ष्य भएकाले यसलाई बलियो बनाउनका लागि पनि जनताले काँग्रेसलाई विश्वास गर्ने बताए ।

संविधानमा भएका मूलभूत कुरालाई उल्टाउने तथा एकदलीय शासन व्यवस्था लागू गर्ने मनसायका साथ वाम गठबन्धन भएको भन्दै संयोजक खाँणले बहुदलीय व्यवस्थाको रक्षा र राष्ट्रियताको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए ।

संयोजक खाँणले २१ गते निर्वाचन हुन लागेका सबै जिल्लाका सबै मतदानस्थलमा पार्टीले स्वयंसेवक खटाइसकेको जानकारी दिनुहुँदै निर्वाचनमा खटिएका प्रतिनिधि, स्वयंसेवक, कर्मचारीको सुरक्षाका लागि सरकारसँग माग गरे।

उनले काँग्रेसको सरकारका पालामा मुलुकले पूर्वाधार विकासमा ठूलो फड्को मारेको भन्दै संविधान कार्यान्वयन र आर्थिक विकास काँग्रेसबाट सम्भव भएको स्पष्ट पारे ।

प्रकाशित : १७ मंसिर २०७४, आईतवार १४:३७