नेपाल–भारत नाका बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल–भारत नाका बन्द



काठमाडौं । बिहीबार हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि गएराति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमासँग जोडिएका जिल्लाहरुमा सीमा नाका बन्द गरिएको छ ।

निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न भारतसँग जोडिएका पूर्वदेखि पश्चिसम्मकै सीमावर्ती जिल्लामा नाका बन्द गरी सुरक्षा निगरानी बढाइएको हो ।

झापा, इलाम, सुनसरी, मोरङ, पर्सा, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहितका जिल्लाका सीमा नाका सिल गरिएको हो ।

नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुबै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी छलफलमा सीमा नाका सिल गर्ने गरिएको छ ।

सोमवार राति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म सीमा बन्द गरिएको सम्बन्धित जिल्लाका सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि नाका बन्द गरिएको समितिको भनाइ छ ।

सीमा नाका सिलसँगै चुनाव हुने जिल्लाहरुमा लागुऔषध नियन्त्रण र मदिरा बेचबिखनमा निषेध गरिएको छ ।

हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी जस्ता घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।

सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनसमेत रोकिएको छ ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार ११:४३