अाज स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाज स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस



काठमाडाै । स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ ।

उहाँले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाउनुभएको छ । उहाँले गाएका म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।
उहाँको सम्झनामा नारायण गोपाल संगीत कोषले उहाँको निवास महाराजगञ्जको मिलिजुली टोलमा विशेष कार्यक्रम गर्दैछ ।

यसैबिच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदैछ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानित हुनुभएको थियो ।
त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने कोषका महासचिव उषा शेरचनले जानकारी दिनुभयो ।

प्रकाशित : १९ मंसिर २०७४, मंगलवार १२:१७