यी हुन आफैंलाई मत हाल्न नपाउने नेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन आफैंलाई मत हाल्न नपाउने नेता



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफैंलाई मत हाल्न नपाउने भएका छन् ।  उनी झापा–५ का उम्मेदवार हुन् । तर ओलीको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिका–२ मा छ ।

 

एमाले नेता माधवकुमार नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर उनको मतदाता नामावली रौतहटमा छ । माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले पनि आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ–२बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१ तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै कार्की झापा–१बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् ।

राजपा अध्यक्ष मण्डका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् ।

उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । महतोको मतदाता सूची सर्लाही चन्द्रनगर–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैंलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङको विराटनगर महानगरपालिका–१४ जतुवामा छ । –नयाँ पत्रिका दैनिकबाट

प्रकाशित : २० मंसिर २०७४, बुधबार ११:२६