कति समय लाग्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति समय लाग्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन ?



काठमाडाै । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकार गठनसँगै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रियागत ढंगबाट मात्र पनि कम्तिमा दुई महिना लाग्ने देखिएको छ ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम ४ दिन र समानुपातिकतर्फको ८ दिनभित्र सार्वजनकि गरिसक्ने लक्ष्य लिएको छ । आयोगले राखेको लक्ष्य अनुसार नै पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि माघ पुग्ने देखिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलको व्यवस्था गरिनेछ । कानुन अनुसार संघ र प्रदेशसभा सदस्यको मतभार भने फरक छ । संघीय संसदको प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसदको प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ ।

संघीय संसदमा राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी ३ सय ३४ सदस्य हुनेछन् । प्रदेश सभामा ५ सय ५० सदस्य रहनेछन् । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि निर्वाचन आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ । निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुनेछन् ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १५:०७