भोट हाले पछि प्रभावशाली नेताले के भने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

भोट हाले पछि प्रभावशाली नेताले के भने ?



शेरबहादुर देउवा, प्रधानमन्त्री एवं काँग्रेस सभापति

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गरे । मतदानपछि उनले काँग्रेसले बहुमत ल्याउने र भावी प्रधानमन्त्री आफै हुने दाबीमात्रै गरेनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य पनि गरे । देउवाले भने, ‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला । तर, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’

प्रचण्ड, माओवादी केन्द्रका अध्यक्ष

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बिहान ७ बजे नै भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरे । आफैँलाई मतदान गरेपछि उनले भने, ‘निर्वाचनपछि वामपन्थीको नेतृत्वमा सरकार बन्छ, देश समृद्धिको यात्रामा सुरु हुन्छ । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने छ ।’

सुवास नेम्वाङ, एमाले नेता

पूर्वसभामुख एवं इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवासचन्द्र नेम्बाङले सदरमुकामको बालमन्दिर केन्द्रमा विहान ७ बजे गरे । त्यसपछि उनले भने, ‘अब मुलुक समृद्धिको बाटोमा लाग्छ । निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको छ । नेपालीका लागि यो हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’

कमल थापा, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष

उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–६ वंशगोपाल उच्च माविको मतदान केन्द्रबाट भोट हाले । मतदानपछि उनले भने, ‘वर्तमान संविधानलार्ई जीवन्त राख्न र प्रजातन्त्रको सुदृढीकरण गर्ने क्रममा यो निर्वाचनले महत्वपूर्ण योगदान दिएको छ । जनताको आर्थिक समृद्धि गर्ने र राष्ट्रलाई बाह्य शक्तिको चलखेलबाट जोगाउन प्रमुख दलले आफ्नो दलगत स्वार्थ त्यागेर राष्ट्रको लागि त्याग गर्नुपर्ने समय आएको छ ।’

रामचन्द्र पौडेल, काँग्रेस नेता

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्दबाट मतदान गरे । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पौडेलले भोट खसालेपछि भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकलाई अग्रगतिमा लैजान्छ । सत्तरी वर्षदेखिको लोकतान्त्रिक आन्दोलनको संघर्षको परिणामको संविधानलाई कार्यान्वयन गरेर लोकतन्त्रलाई संस्थागत गर्ने र देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन यो निर्वाचन भइरहेको छ । मैले आफूले आफ्नो क्षेत्रका जनताको सेवा गर्दै आएकाले जनताले आफैलाई मतदान गर्ने विश्वास छ ।’

इश्वर पोखरेल, एमाले महासचिव

नेकपा एमालेका महासचिव एवम् काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का वाम गठबन्धनका साझा उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ धापासीस्थित स्काई लार्क स्कुलबाट मतदान गरे । मतदानपछि उनले भने, ‘चुनावपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गर्छ । वैदेशिक लगानी र स्थानीय सरकार समेतको व्यापक परिचालनबाट आर्थिक एजेण्डालाई प्राथमिकता दिएर अबको ध्यान भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्छौं । हाम्रो अबको ध्यान मुलुकको पुनर्निर्माण र आधुनिकीकरणमा हुनेछ, समृद्धि प्राप्तिका निम्ति हुनेछ ।

गगन थापा, काँग्रेस नेता

काठमाडौं क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले सोही क्षेत्रको मैतिदेवीबाट मतदान गरे । मतदानपछि उनले भने, ‘सरकारले हिजो मात्रै हिंसात्मक घटनामा विप्लव माओवादीको हात छ भनेको छ । यदि त्यसो हो भने विप्लवले यो छुट किन पाउने ? निर्वाचनपछि कुनै पनि समूहले हिंसा गर्ने छुट पाउनुहुन्न । हिंसाको राजनीति गरेर आएकाहरुले पनि हिंसा कुनै पनि प्रसंगमा ठीक थिएन भन्नुपर्ने छ । प्रचण्ड, बाबुराम वा अरु कोहीले जबसम्म हिजो हामीले गरेको आन्दोलन ठीक थियो भनिरहनुहुन्छ तबसम्म यस्ता घटना घटिरहन्छ ।’

राष्ट्रकवि माधवप्रसाद घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरलेले अब वास्तविक रुपमै नेपाल नयाँ युगमा प्रवेश गरेको बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लैनचौररस्थित जनकनाथ उच्च माविको मतदान केन्द्रबाट मतदान गर्दै ९९ वर्षीय राष्ट्रकवि घिमिरेले अब नेपाल स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘अहिलेसम्म देशमा अस्थिरता थियो, अहिलेसम्म नेपालीहरु राजनीतिक व्यवस्था परिवर्तनमै अल्मलिए,’ घिमिरेले भने, अब अब स्थायित्व आउँछ । हामीले त्यसैका लागि आज मतदान गर्‍यौं ।’

उनले २००७ साल ताकाबाट परिवर्तन गरेका अन्य मुलुकहरुबाट नेपालले गाडी खरिद गरेर ल्याउने गरेको स्मण्रा गराउँदै अब यसरी अल्मलिनु नहुने बताए ।

‘हामीले उत्तम संविधान पाएका छौं । अब त्यहाँ जे लेखिएको छ त्यही बमोजिम काम हुनुपर्छ ।’ राष्ट्रकवि घिमिरेले भने, ‘अहिलेसम्म देश तल पर्‍यो । अब सबैभन्दा उच्च देश हो भन्ने भावनाले काम हुनुपर्छ । अब हामीभन्दा उच्च देश हुनुपर्छ ।’

 

पूर्व प्रधानमन्त्री ,झलनाथ खनाल

पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का उम्मेदवार झलनाथ खनालले निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

सूर्योदय नगरपालिका १० स्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट बिहान १० बजे मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले अब मुलुकको जटिल संक्रमणकाल समाप्त भएर समृद्धि तर्फ अघि बढेको पनि बताए ।

दुई निर्वाचनले संविधान कार्यान्वयनलाई बलियो बनाएको भन्दै उनले अब कानुनहरु बनाएर मुलुकलाई सही गतिमा हिँडाउनु पर्ने बताए । उनले भने, ‘थुप्रै कानुन बनाएर संविधानलाई पूर्ण कार्यान्वयन गर्न बाँकी छ तर अब छिट्टै कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्छ ।’

खनालले आफूलाई पार्टीले जस्तोसुकै जिम्मेवारी दिएपनि पूरा गर्ने बताए । उनले भने, ‘मलाई राष्ट्रपति बनाए पनि ठीक छ, प्रधानमन्त्री बनाए पनि ठीक छ, यी दुवै नभएपनि ठीक छ ।’

प्रकाशित : २१ मंसिर २०७४, बिहीबार १३:३२