कस्तो बन्छ राष्ट्र बैंकको संरचना ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कस्तो बन्छ राष्ट्र बैंकको संरचना ?



काठमाडौं । संविधान निर्माण भइसकेपश्चात धेरै कानुन निर्माण भएका छन् । संघीयताको विषयमा नेपालमा लामो बहस भयो । संघीयताकै सन्दर्भमै वित्तीय संघीयताको कुरा ओझेलमै छ । नयाँ संविधानअनुसार बनाइएका संघीय संरचनाका लागि जनप्रतिनिधि चयन भइसकेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसक्दासमेत वित्तीय संघीयताको बहस त्यति धेरै चलेको पाइँदैन । फेरि नेपालमा संघीय पुनर्संरचनालाई वित्तीय संघीयतासँग जोडेर हेर्नेहरू धेरै पनि छैनन् । वित्तीय संघीयता राजनीतिक र प्रशासनिक संघीयताको समकक्षी हो र यसले विभिन्न तहका सरकारको आम्दानी र खर्च तथा स्रोत साधनको व्यवस्थापन गर्छ ।

वित्तीय संघीयताको बहस

नेपालसमेत अहिले ४२ मुलुकमा संघीय प्रणाली कायम छ । १५ वटा अति विकसित र लोकतान्त्रिक मुलुकमध्ये ११ वटा देशमा एकात्मक राज्यप्रणाली रहेको छ भने चारवटा मुलुकमा संघीय राज्य प्रणाली छ । नेपालको संविधान २०७२ अनुसार संघीय राज्य प्रणालीमा प्रवेश गरिसकेको नेपालका राजनीतिक दलहरू र राज्यका संयन्त्रहरूबीच संघीय प्रणालीको प्रभावकारी राजनीतिक, आर्थिक, सामाजिक वा वित्तीय जग निर्माण गर्नेबारेमा अहिलेसम्म पनि न ठोस दृष्टिकोण बन्न सकेको छ, न त मार्गचित्र नै । फलस्वरूप समष्टिमा कुन ‘मोडेल’ को संघात्मक पद्दति नेपालले अपनाउन चाहेको हो, त्यसबारेमा नीति–निर्माण तह नै ‘कुइरोको काग’ बनिरहेको सन्दर्भमा वित्तीय संघीयता जस्तो विशिष्टीकृत विषयको दृष्टिकोण र कार्यनीति अहिलेसम्म बन्न नसक्नुलाई आश्चर्यका रुपमा लिन नसकिने आलोचकहरु बताउँछन् ।

केन्द्रीय बैंकको संघीय संरचना

मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको संघीय स्वरुप कस्तो बन्ने ? भन्ने विषयमा अझै अन्योलता कायमै छ । अहिले साच्चिकै भन्ने हो भने केन्द्रीय बैंकको शाखा लथालिङ अवस्थामा छन् । नेपाल राष्ट्र बैंक केन्द्रमा रहने र त्यसअन्तर्गतमा रहने गरीसातै प्रदेशमा राष्ट्र बैंकका प्रादेशिक शाखा स्थापना गरिने चर्चा लामो समयसम्म चल्यो । सबै प्रदेशमा राष्ट्र बैंकका शाखा रहने र प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको नियमन सम्बन्धित प्रदेशकै राष्ट्र बैंकले गर्ने भनिएता पनि हालसम्म प्रदेशस्तरीय राष्ट्र बैंकका शाखा छैनन् । यसअघि विभिन्न ठाउँमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय रहेकामा हालसम्म पनि यथावत नै छन् ।

अब कस्तो बन्छ त राष्ट्र बैंकको संरचना ?

राष्ट्र बैंकको संरचना कस्तो बनाउने भन्ने निष्कर्श हालसम्म राष्ट्र बैंकले नै सार्वजनिक गरेको छैन । सबै प्रदेशमा राष्ट्र बैंकको शाखा आवश्यकता पर्ने राष्ट्र बैंककै अधिकारीहरुले बताउँदै आएका छन् । राष्ट्र बैंकले अहिले तत्कालै कुनै ठाउँमा शाखा खोल्ने योजना नबनाएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितको भनाइ छ । फेरि प्रत्येक प्रदेशमा राष्ट्र बैंकको शाखा हुनैपर्छ भन्ने नभएको पण्डितले बताए । ‘जसरी पनि राष्ट्र बैंकले सेवा दिने हो’ उनी भन्छन्– ‘सबै बैंकमा नोट पुर्याउन सक्ने गरी शाखा हेरफेर भने हुन सक्छन् ।’

हाल अधिकांश प्रदेशमा राष्ट्र बैंकका शाखा छन् । प्रदेश नम्बर २ मा भने २ वटा शाखा छन् । जनकपुरमा र वीरगन्जमा रहेको शाखामध्ये एउटालाई स्थानान्तरण गर्न सकिने उनको भनाइ छ ।अार्थिक न्यूजबाट

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १२:४७