भ्याट प्रकरणः लगानीकर्ता बिच्क्याउने खेल ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भ्याट प्रकरणः लगानीकर्ता बिच्क्याउने खेल !



काठमाडौं । धितोपत्र दलाल र आन्तरिक राजस्व विभागबीचको भ्याट प्रकरणका विषयमा लगानीकर्ताहरुले कडा आपत्ति जनाएका छन् । बुधकार राजधानीमा पत्रकार सम्मेलन गरेर पूँजीबजारलाई भ्याट रहित नबनाए कडा आन्दोलन समेत गर्ने जनाएका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघ अध्यक्ष्य नबराज सुबेदी, स्टक ब्रोकर्स एसोसियशन अफ नेपाल अध्यक्ष प्रियराज रेग्मी,नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले संयुक्त रुपमा प्रेस वक्तव्य जारि गर्दै यस्तो विरोध गरेका हुन ।

आन्तरिक राजस्व विभागले ब्रोकर नं ५२,५३ र ५४ लाई भ्याट रकम दाखिला गर्न भनि पत्र पठाएपछि ब्रोकर र लगानीकर्ताहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन ।

धितोपत्र दलालको सेवा २०५० सालबाट प्रारम्भ भएको र तत्कालिन बिक्रीकर ऐन, २०२३ अनुसार पनि दलाल सेवामा बिक्रीकर नलागेको जारि गरिएको विज्ञप्तिमा उल्लेख छ । मूल्य अभिबृद्धि कर लागू भएपछि हालसम्म पनि करिब १९ बर्षसम्म लगातार वित्तीय सेवामा उल्लेख गरिएको कानुनलाई मान्दै आएको तर हाल आएर धितोपत्र दलालको दलाली सेवा वित्तीय सेवामा नपर्ने भनि गलत व्याख्या गरिएको आरोप समेत उनीहरुले लगाएका छन् ।

धितोपत्र कारोबार सम्बन्धी मूल्य अभिबृद्धि कर निर्देशिका, २०६९ (पहिलो संशोधन २०७३) को दफा ४.१७ मा वित्तिय सेवा निर्देशिकामा यस्तो वित्तीय सेवामा कर छुट हुने व्यवस्था रहेको छ ।

जारि गरिएको विज्ञप्तिमा भनिएको– ‘पूँजी बजारका लगानीकर्ताहरु हतोत्साही पार्ने, पूँजी निर्माण तथा परिचालनमा नकारात्मक असर गर्ने र समग्र आर्थिक विकासलाई नै अवरुद्ध पार्ने यस्ता कार्यहरुको हामी संयुक्त रुपमा विरोध गर्दछौं ।’

पूँजी बजारमा तरलता प्रदान गर्ने, आर्थिक विकासको लागि पूँजीको सहज र सरल रुपमा उपलब्ध गराउने, अर्थतन्त्रको सहि सूचकको रुपमा प्रतिनिधित्व गर्ने पूँजी बजारलाई नकारात्मक प्रभाव पार्ने गरि गरिएको यस्तो पत्रचारको घोर भ्रत्सर्ना गर्दैछौं विज्ञप्तिमा भनिएको छ । यस्तो प्रयत्न तत्काल फिर्ता लिन र भ्याट मुक्त पूँजी बजारको लागि आवश्यक वातावरण बनाउनाका लागि सम्बद्ध सबै पक्ष समक्षलाई अपिल समेत गरेको छ ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १८:५१