प्रदेश ३ को मुख्यमन्त्री बन्ने विषयले एमालेभित्र झगडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रदेश ३ को मुख्यमन्त्री बन्ने विषयले एमालेभित्र झगडा



काठमाडौं । सबै भन्दा ठूलो प्रादेशिक संसद बन्ने प्रदेश ३ को मुख्यमन्त्री बन्नृे विषयले एमालेभित्र झगडा सुरु भएको छ ।

३ नम्बर प्रदेशमा सबैभन्दा बढी संख्या एमालेले नै जितेको छ । एमाले उपाध्यक्ष एवं प्रदेश ३ को संयोजक समेत रहेकी अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको बहुमत आएकाले मुख्यमन्त्री आफू नै हुने जिकिर गरेकी छन् ।

उनले भनेकी छन्, ‘प्रदेश संयोजक भएको नाताले मुख्यमन्त्रीको जिम्मेवारी मैले नै पाउनेछु ।’ सिनियरको हिसाबले पनि आफैले मुख्यमन्त्री पाउने समेत उनले बताइन् ।

काठमाडौं–८ का जनताको इच्छा, चाहना हो, उनले भनेकी छन्, ‘प्रदेश कमिटीको सचिवालयबाट पनि मेरै नाम सर्वसम्मत पारित गरेर पठाएको छ । प्रदेशको संयोजक पनि म नै छु । तर, पार्टीले निर्णय आउन बाँकी नै छ । सबैलाई मिलाएर नै हामी अगाडि बढ्छौं ।’

एमालेले मात्रै निर्णय गरेर हुन्छ कि वाम गठबन्धनले गर्नुपर्छ ? जवाफमा उनले भनिन्, ‘वाम गठबन्धनसँग सल्लाह निश्चित रुपमा चाहिन्छ । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि हामीले गठबन्धन गरेर नै चुनाव लडेका थियौं । उहाँहरुबाट पनि त्यही किसिमको भावना अभिव्यक्त भएको छ । उहाँहरुले पनि हाम्रो समर्थन रहन्छ भन्नुभएको छ । केन्द्र र नेतृत्व तहमा समझदारी हुन्छ ।’ आफु मूख्यमन्त्री बन्ने सम्भावना बढी नै रहेको उनले बताइन् ।

माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गर्नेबारे भने आफुलाई थाहा नभएको उनको भनाई छ । प्रदेश संयोजक शाक्यले आफुनै मुख्यमन्त्री बन्ने जिकिर गरिरहँदा २०४८ सालदेखि संसदमा प्रतिनिधित्व गर्दै आएका पोलिट व्यूरो सदस्य राजेन्द्र पाण्डेले भने आफुनै मूख्यमन्त्री हुने बताएका छन् ।

झोंकिँदै उनले भने, ‘प्रदेश संयोजकले नै एक पटक होइन ३ पटक सम्म तपाई मूख्यमन्त्रीको तयारी गर्नुस् भनेको हो । एमालेको इतिहासमा सिनियर नै मुख्यमन्त्री हुनुपर्छ भन्ने छैन ।’ उनले झलनाथ र केपी ओलीको उदाहरण दिँदै एउटा अध्यक्ष हुँदा हुँदै अर्को व्यक्ति संसदीय दलको नेता जितेको बताए ।

उनले भने, ‘मूख्यमन्त्री बन्ने भनेरै म प्रदेशसभामा आएको हुँ । नभए ०४८ सालदेखि अविच्छिन्न संसदीय राजनीति गर्दैै आएको व्यक्ति यहाँ पुग्छु । यहाँबाट जिल्ला अध्यक्षलाई केन्द्रमा पठाउँछु ।’ प्रदेश संयोजक एक्लैले आफैले निर्णय गरेर हुने कुरा होइन, उनले अगाडि थपे, ‘पार्टीले उहाँलाई मूख्यमन्त्री दिन भनेर कहिल्यै भनेको छैन ।

पाण्डे धादिङ २ ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । उनले २७ हजार ३ सय ३२ मत ल्याए । उनले नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मत अन्तरले हराए । श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए ।हाम्राकुराबाट

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार २१:१४