समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि



काठमाडौं । समृद्धि सूचकांकमा भारत र चीनभन्दा नेपाल अगाडि देखिएको छ । नेपाल चीनभन्दा १ स्थान अगाडि छ भने भारतभन्दा ११ स्थान माथि छ । नेपाल समृद्धि सूचकांकको ८९ औं स्थानमा रहँदा चीन १ स्थान तल ९० औं स्थानमा छ भने भारत ११ स्थान तल अर्थात १ सयौं स्थानमा छ ।

‘लेगाटम प्रोस्पेरिटी इन्डेक्स २०१७’मा उल्लेख भएअनुसार नेपाल दुई ठूला अर्थतन्त्र भएका छिमेकी भारत र चीनभन्दा अगाडि देखिएको हो । लेगाटम इन्स्टिच्युटले चीन स्वशासित हङकङसहित १ सय ४८ वटा राष्ट्रको अध्ययनपछि समृद्धि सूचकांक सार्वजनिक गरेको हो । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रत्येक वर्ष लेगाटम समृद्धि सूचकांक सार्वजनिक गर्ने गरिन्छ । समृद्धि सूचकांकका लागि ९ वटा मापदण्ड तय गरिएको थियो । देशको आर्थिक गुणस्तर, व्यावसायिक वातावरण, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी र प्राकृतिक वातावरणका आधारमा स्थान तय गर्ने गरिन्छ । जसमा नेपाल चीनसहित दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तानभन्दा अगाडि छ । बंगलादेश समृद्धि सूचकांकमा १ सय ११ औं स्थानमा छ भने पाकिस्तान १ सय ३७ स्थानमा छ । श्रीलंकमा भने नेपालभन्दा ३६ स्थान अगाडि ५३ औंं स्थानमा छ । ९ वटा मापदण्डमध्ये नेपालको सबैभन्दा राम्रो व्यक्तिगत स्वन्त्रता देखिएको छ ।

समग्रतमा ८९ औं स्थानमा रहेको नेपाल व्यक्तिगत स्वतन्त्रताका हिसावले ३९ औं स्थानमा छ । त्यसपछि आर्थिक गुणस्तर भएको राष्ट्रमा ४५ औं, सामाजिक पुँजी, सुरक्षामा ८३ र सुशासनमा ८४ औं स्थानमा छ । शिक्षा, स्वास्थ्य, व्यावसायिक वातावरण र प्राकृतिक वातावरणमा भने नेपालको अवस्था दयनीय देखिएको छ । सूचकांकका अनुसार व्यावसायिक वातावरणमा १ सय १४ औं स्थानमा छ भने शिक्षामा १ सय १५, स्वास्थ्यमा १ सय ७ र प्राकृतिक वातावरणमा १ सय २६ औं स्थानमा छ ।

भारत र चीनभन्दा व्यक्तिगत स्वतन्त्रता भएको राष्ट्रको सूचीमा पनि नेपाल धेरै अगाडि छ । व्यक्तिगत स्वतन्त्रता भएको ३९ औं राष्ट्रमा नेपाल पर्दा भारत १ सय र चीन १ सय ३९ औं स्थानमा छ । प्राकृतिक वातावरण भारत र चीनको भन्दा नेपालको राम्रो देखिएको छ । नेपाल सो मापदण्डमा १ सय २६ स्थानमा हुँदा चीन १ सय ३५ र भारत १ सय ३९ औं स्थानमा छ । आर्थिक गुणस्तरमा भने नेपाल चीनभन्दा पछाडि रहे पनि भारतभन्दा अगाडि छ । चीन ३२ औं स्थानमा छ भने भारत ५६ औं स्थानमा छ । नेपाल ४५ औं स्थानमा छ । सुशासनका हिसावले भने भारत चीनभन्दा निकै नै अगाडि छ । भारत ४१ औं स्थानमा छ भने चीन सुशासन भएको राष्ट्रको सूचीमा १ सय २२ औं स्थानमा छ । नेपाल ८४ औं स्थानमा छ ।

सूचकांकका अनुसार आर्थिक गुणस्तर, व्यापारिक वातावरण, शिक्षा, स्वास्थ्य, सुरक्षामा चीन नेपाल र भारतभन्दा अगाडि छ । त्यस्तै सुशासन, सामाजिक पुँजी, व्यक्तिगत स्वतन्त्रतामा भने चीनभन्दा भारत अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार ०८:४२