सेयरमा लगानी गर्ने हो ? अाउदै छ ठूलो अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयरमा लगानी गर्ने हो ? अाउदै छ ठूलो अवसर



काठमाडाै । सेयरमा लगानी गर्न चाहनेहरुका लागि ठूलो अवसर आउने भएको छ । यतिबेला, तीन वटा कम्पनीले साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् भने २० वटा कम्पनी पाइपलाइनमा छन् ।

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले पहिलो चरणमा कर्मचारीका लागि सेयर निष्काशन गर्न लागेको हो । पहिलो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । तीन अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारण सेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी सेयर निष्काशन गर्न लागेको हो ।

 

पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक शेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत सेयर निष्काशन हुनेछ । उक्त आईपिओ निष्काशनको लागि कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । परियोजना निमार्णका लागि सञ्चय कोषले तीन अर्ब ६५ करोड रुपैयाँ ऋण दिएको छ । सञ्चय कोषलाई साढे १९ प्रतिशत सेयर दिने सम्झौता २०६७ सालमा नै भएको बताइएको छ । रसुवामा अवस्थित सान्जेन जलविद्युतले १४.८ मेघावाट माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन निर्माण गर्दैछ ।

बुटवल पावर कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड थप सेयर (एफपिओ) निष्काशनको अन्तिम चरणमा छन् । यी कम्पनीले एफपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त गरिसकेका छन् ।

बुटवलले प्रतिकित्ता पाँच सय एक रुपैयाँमा एफपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्दैछ । जसमध्ये, पाँच प्रतिशत अर्थात दुई लाख चार हजार ५० कित्ता सेयर आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई छुट्याइएको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेडले पाएका छन् । एफपिओबाट संकलित रकम निर्माणाधीन आयोजनामा लगानी गरिने बताइएको छ । कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । साथै बीपीसी एक सय मेगावाटको मनाङमस्र्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पूरा गरिसकेको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्सले प्रतिकित्ता सात सय ९९ रुपैयाँका दरले एफपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपिओ निष्काशन गर्दैछ । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल प्रिमियरको चुक्ता पूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । जसमा संस्थापक तर्फको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ भने सर्वसाधारण तर्फको ४० प्रतिशत रहेको छ । कम्पनीले एफपिओ निष्काशन पछि सेयर संरचना संस्थापकतर्फ ५३ प्रतिशत र सर्वसाधारणतर्फ ४७ प्रतिशत हुने छ भने चुक्तापुँजी ५१ करोड रुपैयाँ पुग्नेछ ।

सेयर निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा २० कम्पनी रहेका छन् । जसमध्ये, १५ वटा जलविद्युत् कम्पनी रहेका छन् । आँखुखोला जलविद्युत् कम्पनी, गज्रङ उपत्यका हाइड्रो, जोशी हाइड्रो, लाफिङ बुद्ध पावर, युनिक हाइड्रो, युनियन हाइड्रो, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो, सुभम पावर र कालिका पावरले आयोजना प्रभावित स्थानीयहरुका लागि सेयर जारी गर्दैछन् ।

सीईडीबी हाइड्रो, मैलुङ खोला जलविद्युत् कम्पनी र रैराङ हाइड्रोले सर्वसाधारण सेयरधनीका लागि सेयर जारी गर्दैछन् । त्यस्तै, अपर तामाकोशी हाइड्रोले स्थानीय र सर्वसाधारण दुवैलाई सेयर जारी गर्ने अनुमति मागेको छ भने रसुवागढी हाइड्रोले कम्पनीले प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सावधान कोषका सदस्यहरू र कर्जा प्रदायक संस्थाका कर्मचारीहरूका लागि सेयर जारी गर्ने अनुमति मागेको छ ।

यसबाहेक, एनएमबि बैंकको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपिओ पनि पाइपलाइनमा रहेको छ । आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, उन्नति माइक्रोफाइनान्स र सामुदायिक लघुवित्त पनि साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन् । समग्रमा २० कम्पनीको छ करोड ५२ लाख ४८ हजार नौ सय ३४ कित्ता साधारण सेयर पाइपलाइनमा छन् ।बैकिङ खबरबाट

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १८:००