समानुपातितर्फ कुन दलले कति सिट ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समानुपातितर्फ कुन दलले कति सिट ?



काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना लगभग सकिएको छ । प्रत्यक्षतर्फको सिट संख्या आइसके पनि समानुपातिकतर्फको मतगणना सकिएपछि पनि दलहरुले प्राप्त गर्ने सिट संख्याको टुंगो लगाउन कम्तीमा १५ दिन लाग्ने जनाएको छ।

कुल खसेको सदर मतलाई विभाजन गर्ने ‘सेन्ट लग’ भाजक सूत्रको प्रयोग तथा दलहरुले सूची पेश गर्ने र सच्याउन समय लिने भएकाले समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारहरुको अन्तिम सूची प्रकाशनका लागि समय लाग्ने भएको हो ।

यतिबेलासम्म प्राप्त परिणाम अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सिट पाउन चाहिने कुल सदर मतको ३ प्रतिशत मत पाँचवटा दलले मात्र ल्याएका छन् भने प्रदेशसभामा पनि यीनै दल हाबी भएका छन् ।

प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । अब प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट दलहरुले जित्ने सिटको हिसाबकिताव आवश्यक छ ।

एक करोड ५ लाख भोट खसेको मत अनुसार प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ । एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ ।

त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेश्रो स्थानमा धकेलिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । समानुपातिक समेतको परिणामले कांग्रेस दोश्रो दल बन्ने पनि निश्चित भएको छ ।

त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले केन्द्रले समानुपातिकमा १४ प्रतिशत मत ल्याएको छ । संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।

३ प्रतिशत मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् ।

जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६र६ सिट पाउनेछन् ।

प्रत्यक्षबाट थोरै मात्र महिला सांसदले जितेको संघीय संसदमा दलले पाएका यी सिटमा सबैजसो महिलालाई चयन गर्नुपर्ने अवस्था छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार २१:५८