लिखु ४ जलविद्युत आयोजनामा ७ बैंकको ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लिखु ४ जलविद्युत आयोजनामा ७ बैंकको ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी



काठमाडौं । लामो समयदेखि अवरुद्ध ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्रालि र नविल बैंकबीच ऋण लगानी सम्झौता भएको छ । नेपालको व्यवसायीक घरना त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको आयोजनामा नविलको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

लगानी जुटेकाले आयोजना बन्ने निश्चित भएको छ । आयोजना आगामी सन् २०२० को अन्त्यमा सम्पन्न हुने प्रमुख बद्री रिजालले बताए । आयोजनाको निर्माणको जिम्मेबारी इटालीको सीएमसी कम्पनीले पाएको छ । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ रहेको रिजालले जानकारी दिए । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ सवपुँजी लगानी गरेका छन् ।
आयोजनाको निर्माण एक सातापछि सुरु हुने उनले बताए । भारतको भिल्वरा ग्रुपले लिखु ४ बाट हात झिकेपछि विशाल ग्रुपको प्रवेश भएको हो ।

आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न गर्ने प्रतिवद्धता प्रवद्र्धक ग्रिन भेन्चसले जनाएको छ । प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ ।
ग्रिनभेन्चर्सले भारतमा बिजुली निकासीका लागि आयोजना १२० मेगावाटमा डिजाइन गरेकोमा बजार बिजुलीको मूल्य, प्रसारणलाइन पुर्वाधारलगायत अन्य विभिन्न कारणले अनिश्चित भएपछि उसले नेपालमै बेच्ने भन्दै क्षमता घटाएर ५२.४ मेगावाटमा पीपीए गरेको हो ।

प्राधिकरण र ग्रिनभेन्चर्सबीच सन् २०१६ मेसम्मका लागि ५२.४ मेगावाट बिजुली (५.९९ सेन्ट प्रति युनिटमा केही वर्षका लागि (फलव्याक) पीपीए भएको थियो । आयोजनाबाट वि.सं. ०७१ पुस १६ देखि बिजुली उत्पादन गर्ने प्रतिबद्धता प्रवद्र्धक ग्रिनभेन्चर्सले गरे पनि एक वर्षअघि मात्र पुरा समय पीपीए भएको छ ।

ऊर्जाले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ ।यसअघि अयोजना क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता बढेर १२० मेगावाट पूयाइएको थियो । अब क्यू ४० मा डिजाइन गर्दा क्षमता घटेर ५२.४ मेगावाटमा सीमित हुनेछ । आयोजना निर्माणका आईडीआई बैंक भारतबाट सहवित्तीयकरणमा कर्जा ल्याउने तयारी गरेको थियो ।

आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।

आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजनास्थलसम्म पुग्न कम्पनीले सडक निर्माणको काम पूरा गरेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १३:०३