निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैयाँ ऋण स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैयाँ ऋण स्वीकृत



काठमाडौं । विश्व बैंकले भूकम्पले क्षति पुर्याएका निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । यसअघि विश्व बैंकले विनाशकरी भूकम्प लगत्तै असार महिनामा २० अर्ब रुपैयाँ सहयोग दिएको थियो । यससहित निजी आवास पुनर्निर्माणका लागि मात्र विश्व बैंकबाट नेपालले ५० अर्ब रुपैयाँ सहयोग परिचालन गर्ने भएको छ ।

विश्व बैंकको यो सहयोगले अहिले निर्माणाधीन घरहरुको दोस्रो र तेश्रो किस्ता रकम वितरणका लागि सहज हुनेछ । भूकम्पको क्षति नेपालको कुल गार्हस्थ उत्पादनको करिब ३५ प्रतिशत रहेको थियो, जसको पुनस्र्थापनाका लागि ७ अर्ब डलर आवश्यक पर्ने बताइएको थियो ।

भूकम्पपछि करिब पाँच लाख घरहरु क्षति भएको अनुमान गरिएपनि अनुदान लिन योग्य घरपरिवारको संख्या ६ लाख ५० हजार पुगेको छ भने सरकारले सुरुमा २ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेकोमा यसलाई वृद्धि गरी तीन लाख पुर्याएको छ । अनुमान गरिएकोभन्दा सर्वेक्षणका क्रममा बढी घरपरिवार अनुदानका लागि योग्य हुनु र अनुदानको रकम पनि वृद्धि भएपछि यसबाट सरकारलाई अतिरिक्त १०२ अर्ब रुपैयाँको व्यय थपिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प गएको ११ महिनापछि अनुदान वितरण सुरु गरेको हो । अहिलेसम्म ७३,७०६ घरहरुमात्र निर्माण सम्पन्न भएका छन् । विश्व बैंकले दिएको थप ३० अर्ब रुपैयाँ सहयोगले ९६ हजार घरहरुको पुनर्निर्माण हुनेछ । यसभन्दा अघि विश्व बैंकको सहयोगले ५५ हजार सुरक्षित घरहरु निर्माणका लागि परिचालन भएको थियो । पुनर्निर्माण प्राधिकरणका अनुसार थप एक लाख ७७ हजार घरहरु निर्माणको क्रममा छन् ।

विश्व बैंकको मल्टि डोनर ट्रस्ट फण्डमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड र क्यानडा साझेदार छन् । त्यस्तै, जापान र भारतले पनि निजी आवास पुनर्निर्माणका लागि समानान्तर रुपमा सहयोग प्रदान गरिरहेका छन् ।

प्रकाशित : २ पुष २०७४, आईतवार १५:५३