बालकोटमा यसरी पढाए अोलीले बैंकर र व्यवसायीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बालकोटमा यसरी पढाए अोलीले बैंकर र व्यवसायीलाई



काठमाडाै । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरुले धरौटी र धितोमा मात्र कर्जा दिने परिपाटीलाई परिवतर्न गर्नुपर्ने सुझाव दिएका छन् ।

अब प्रोजेक्ट(परियोजना)लाई आधार मानी कर्जा दिने परिपाटी बैंकहरुले सुरुवात गर्नुपर्छ । बालकोटस्थित निवासमै आफूलाई बधाई दिन आएको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग अध्यक्ष ओलीले भने-‘प्रोजेक्टमा आधारित कर्जा दिने परिपाटी बसाल्न सकिए यसबाट व्यवसाय र रोजगारीको विकासमा निकै ठूलो टेवा पुुग्छ ।’

 

ओलीले मुलुकलाई समृद्ध पार्न पूँजी महत्वपूर्ण भएको उल्लेख गर्दै यसको सिर्जना र भएको पूँजीलाई लगानी गर्न सुनिश्चितता हुनुपर्नेमा जोड दिए । ‘तर अहिले वित्तिय क्षेत्रमा भएको पूँजीको लगानी एकातिर अनुत्पादक क्षेत्रमा थोरै व्याजमा लगानी गर्ने परिपाटी छ भने अर्कोतिर उत्पादनमूूलक क्षेत्रको लगानीमा भने धेरै व्याज लिने प्रचलन छ ।’ उनले थपे–‘साथै सम्पत्ति शुद्धिकरणको नीतिलाई पनि सुधार गरी प्रयोग नभएको पूँजीलाई उत्पादन क्षेत्रमा लगानी गर्ने वातारणको खाँचो छ ।’

ओलीले वाम गठबन्धनमा लगानी प्रतिकूल हुन्छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको आपत्ति जनाए । उनले आफूहरु उदार अर्थनीतिको पक्षधर रहेका, विकास गर्ने ठोस ढाँचा र योजना रहेका र आगामी सरकार सम्पूर्ण रुपले निजी क्षेत्रमैत्री हुने वचन दिए ।

ओलीले लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवं व्यवसायिक विकास सम्भव भएकाले अब बन्ने सरकारले बाह्य र आन्तरिक दुबै लगानीलाई समान अवसर र वातावरणको सुनिश्चितता गर्ने प्रष्ट्याए ।

अध्यक्ष ओलीले “संयुक्त राष्ट्रसंघको दिगो विकास आर्थिक लक्ष्य २०३०” को मुख्य उद्देश्य मध्ये उत्पादन वृद्धिको माध्यमबाट मुलुकमा गरिबी हटोस् र भोकभोकै कोही पनि बस्न नपरोस् भन्ने निश्चितताका लागि आगामी सरकारले निजी क्षेत्रसँग नजिकको सम्बन्ध स्थापना गरी व्यवसाय प्रवद्र्धन, स्वदेशमै रोजगारी वृद्धिका ठोस कार्यक्रम र नीतिसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “अब पूरानो अवधारणाबाट मुलुक चल्दैन । हामीले अब अरुको बजार र उपभोक्ता मात्र नभएर आफ्नै बजारको अबधारणामा काम गर्नु पर्छ । अब आधुनिक र समयसापेक्ष प्रविधि विकासको विकल्प नभएको वस्तुस्थितिमा निजी क्षेत्रले यसमा के गर्नुपर्दछ र सरकारले कस्तो वातावरण र सुविधा दिन आवश्यक हुन्छ, यसमा कस्तो नीतिगत व्यवस्था हुनुपर्दछ, निजी क्षेत्रले स्पष्ट धारणा ल्याउनु पर्दछ ।”

अध्यक्ष ओलीलाई निजी क्षेत्र र नेपाल उद्योग परिसंघको तर्फबाट बधाई दिंदै परिसंघका अध्यक्ष हरिभक्त शर्माले करिब एक शताब्दिपछि मुलुकलाई रुपान्तरण सहित अर्को तहको विकासमा पुर्याउने अवसर आगामी सरकारलाई प्राप्त भएको बताए । उनले निजी क्षेत्रलाई उत्पादनशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउन, (क) विधिको शासन (ख) प्रभावकारी सुशासनको प्रवद्र्धन र (ग) नीतिगत स्थायित्वको आवश्यकता रहेको र यी तीनवटै उद्देश्य हाँसिल गर्न आगामी सरकारले हाल देशमा विद्यमान रहेका निकै पूराना भइसकेका ऐन कानून र तिनमा भएका अमूर्त, अस्पष्ट, विरोधाभाषपूर्ण र अप्रासंगिक प्रावधानहरुको संशोधन, परिमार्जन वा खारेज हुनु पर्ने माग गरे । बिजशालाबाट साभार

प्रकाशित : २ पुष २०७४, आईतवार १७:५०