तराईमा शीतलहरले जनजीवन कष्टकर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तराईमा शीतलहरले जनजीवन कष्टकर



नेपालगन्ज । पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन् । कान्तिपुरमा समाचार छ ।

बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बाल्न बाध्य छन् । नेपालगन्जस्थित हावापानी फिल्ड कार्यालयकी प्रमुख रीता महतोले नेपालगन्जको तापक्रम ६ दशमलव ८ मा झरेको बताइन् । आइतबार दिउँसो यहाँको तापक्रम १९ दशमलव ५ सेल्सियसमा झरेको छ । राति पनि शीतलहर चलेका कारण चिसो बढी हुने गरेको छ । ‘शीतलहरका कारण तापक्रम घटेपछि चिसो बढी महसुस भएको हो । दिउँसो केहीबेर आकाश खुल्ने गरेकाले त्यति बेला तापक्रम बढ्छ,’ महतोले भनिन् ।

हवाई उडान हुन कम्तीमा २ हजार भिजिबिलिटी आवश्यक पर्छ । तर शीतलहर र कुहिरोले आकाश ढाक्दा बिहान उडान हुन नसकेको नेपालगन्जस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नेपालगन्जबाट काठमाडौं र कर्णालीका लागि दैनिक दर्जनभन्दा बढी उडान हुने गरेका छन् ।

शीतलहरका कारण बिहानको समयमा नेपालगन्जमा चहलपहल कम हुन थालेको छ । सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन् । दुई वर्षयता पश्चिम तराईमा मंसिरको अन्तिम सातादेखि शीतलहर चल्न थालेको छ । दुई वर्षअघि पुस–माघका समयमा शीतलहर सुरु हुने गरेको हावापानी फिल्ड कार्यालयको अभिलेख छ ।

प्रकाशित : ३ पुष २०७४, सोमबार ०५:५९